काठमाडौं ।मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बुधबार थप तीन जनाको शव फेला परेको छ।


योसँगै उक्त हिमपहिरोमा ज्यान गुमाउने आरोहीको सङ्ख्या सात पुगेको छ।
नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अनुसार बुधबार खोजी तथा उद्धार टोलीले आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला पारेको हो।
घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड (आईएफएमजीए) पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जनाभन्दा बढी अनुभवी क्लाइम्बिङ गाइडहरूको विशेष टोली उद्धारमा खटिएको छ। सोही टोलीले हिउँ पन्छाएर तीनै जनाको शव निकालेको हो।
यसअघि आइतबार र सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।
गत असोज ११ गते बिहान नार्फाभूमि गाउँपालिका-५ स्थित करिब पाँच हजार दुई सय मिटर उचाइमा हिम्लुङ हिमाल आरोहणका क्रममा हिमपहिरो गएको थियो।
