काठमाडौ – मुगु जिल्लाको एकमात्र जिल्ला अस्पतालमा स्वास्थ्य सेवा दिन सुधार आएको छ। विशेषगरी, अस्पतालको नयाँ भवन, आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकहरूको उपलब्धतासँगै स्वास्थ्य सेवा दिनको लागि थप प्रभावकारी बनाएको छ। अस्पतालले अब एक्स-रे र भिडियाे एक्स-रे सेवा प्रदान गर्दैछ र सुलभ ओषधि पसलको व्यवस्था भएको छ, जसले बिरामीहरूलाई सहज र गुणस्तरीय सेवा सुनिश्चित गरेको छ।

कोरियन सरकारको सहयोगमा निर्मित नयाँ अस्पताल भवनले बिरामीहरूको उपचार प्रक्रिया सुधार गरेको छ। अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लका अनुसार, “सामान्य प्रकारका बिरामीहरूलाई अब थप उपचारको लागि जिल्लाबाहिर जानु नपर्ने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विशेषज्ञ चिकित्सकहरूको समन्वयमा सेवा प्रदान गर्दैछौं।”
अस्पतालमा हाल बालरोग विशेषज्ञ डाक्टर निर्मल नगरकोटी र एमडी जीपी डाक्टर अभिशेष मिश्र सहित १० जना चिकित्सक कार्यरत छन्। यसले गर्भवती महिला, एपेण्डिसाइटिस, हर्निया, हाईड्रोसिल र अन्य जटिल रोगहरूको उपचारलाई जिल्ला भित्र सम्भव बनाएको छ।
स्थानीय बासिन्दाहरूले अस्पतालमा विशेषज्ञ सेवाको विस्तारलाई ठूलो उपलब्धि मानिरहेका छन्, जुन मातृ र शिशु मृत्युदर न्यूनीकरणमा ठूलो योगदान पुर्याउने आशा गरिएको छ।
