
- असोज ९ देखि ११ सम्मको बाढीपहिरोमा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन्।
- जिल्लाका विभिन्न स्थानमा गरी ६१ घरगोठ पूर्ण रूपमा बगेका छन् र ५१ घरमा आंशिक क्षति पुगेको छ।
- बाढीले भौतिक संरचनासँगै विद्यालय, जलविद्युत् आयोजना, पुल र ठूलो संख्यामा पशुचौपायमा क्षति पुर्याएको छ।
काठमाडौं।असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण बागलुङको निसीखोला र तमानखोला बढी प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार बाढीपहिरोले जिल्लामा ६१ घर र गोठ बगाएको छ भने ५१ घरमा आंशिक क्षति भएको छ ।
बागलुङका ५१ घर र १० गोठ बाढीले बगाएको छ । बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालय बगाएको छ । तीनवटा झोलुंगे पुल बगाएको र दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीपहिरोबाट दुईवटा जलविद्युत् आयोजनामा आंशिक क्षति, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा क्षति पुगेको छ । २५६ वटा पशुचौपाय क्षति भएको छ भने २१५ वटा कुखुरा मरेका छन् ।
निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा परेका छन् । पहिरोमा परी चारवटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने एउटा गोठमा आंशिक क्षति पुगेको छ ।
निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका तथा ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रशासनले जनाएको छ ।
तमानखोला–३, धमास्कमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बडिगाड –९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक क्षति तथा दुई गोठमा क्षति पुगेको छ ।
