अर्जुन थापा अर्घाखाँची — जिल्लाको समग्र विकास, सुशासन र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै प्रतिनिधि सभाका रास्वपा उम्मेदवार हरिप्रसाद भुसालले विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्। “आत्मनिर्भर, स्वाभिमानी र आधुनिक अर्घाखाँची” निर्माण गर्ने लक्ष्यसहित सार्वजनिक उक्त दृष्टिपत्रमा राजनीतिक स्थिरता, पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार तथा पूर्वाधार विस्तारलाई एकीकृत रूपमा अघि बढाउने स्पष्ट योजना समेटिएको छ। उनले पुरानो भागबण्डा, पहुँच र सेटिङको राजनीतिले विकास अवरुद्ध भएको उल्लेख गर्दै अब परिणाममुखी, तथ्याङ्कमा आधारित र जवाफदेही शासन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन्।

भुसालले पछिल्ला वर्षहरूमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, कमजोर स्वास्थ्य सेवा, गुणस्तरहीन शिक्षा र अधुरो पूर्वाधारका कारण अर्घाखाँची पछाडि परेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्ने समय आएको बताएका छन्। उनले सुशासनलाई पहिलो प्राथमिकता दिँदै प्रत्येक सार्वजनिक खर्च र योजनालाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाइने, अनलाइन निगरानी तथा सार्वजनिक सुनुवाइ नियमित गरिने र भ्रष्टाचारविरुद्ध ‘जिरो टोलरेन्स’ नीति लागू गरिने स्पष्ट पारे। विकास बजेट दुरुपयोग गर्नेलाई कानुनी कारबाही र जनप्रतिनिधिलाई प्रत्यक्ष उत्तरदायी बनाउने व्यवस्था गरिने उनले बताएका छन्।
डिजिटल रूपान्तरणलाई आधार मानेर जिल्लालाई ‘डिजिटल अर्घाखाँची’ बनाउने योजनाअन्तर्गत प्रत्येक पालिका र वडामा उच्च गतिको निःशुल्क इन्टरनेट सेवा विस्तार, ई–सेवा प्रणालीमार्फत नागरिकलाई घरबाटै सरकारी सेवा उपलब्ध गराउने, डिजिटल सूचना केन्द्र स्थापना गर्ने तथा युवा पुस्तालाई प्रविधि र सीपमा दक्ष बनाउन ‘डिजिटल स्किल सेन्टर’ सञ्चालन गरिने योजना समावेश छ। यससँगै वैज्ञानिक ठेगाना प्रणाली लागू गरी प्रत्येक घरधुरीको व्यवस्थित पहिचान सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
युवा रोजगारी र उद्यमशीलतालाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै उनले बिना धितो सहुलियत ऋणमार्फत ‘स्टार्टअप फन्ड’ स्थापना गर्ने, साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने र कृषि, पर्यटन तथा प्रविधिमा आधारित उद्यमलाई विशेष प्राथमिकता दिने बताएका छन्। स्थानीय उत्पादनलाई बजारसँग जोड्न सहकारी र निजी क्षेत्रको सहकार्य बढाइने तथा स्वदेशमै अवसर सिर्जना गरी युवालाई विदेश जानु नपर्ने वातावरण बनाइने उनको भनाइ छ।
कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउने योजनामा आधुनिक प्रविधि, सिँचाइ सुविधा, चिस्यान केन्द्र र न्यूनतम समर्थन मूल्य प्रणाली लागू गरिने उल्लेख छ। सुन्तला, कफी, तरकारी, फलफूल र पशुपालनलाई विशेष कार्यक्रममार्फत विस्तार गरिने तथा किसानलाई उत्पादनदेखि बजारसम्म सहज पहुँच दिने व्यवस्था गरिने उनले बताएका छन्। वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न क्षतिपूर्ति कोष स्थापना गर्ने र बीमा प्रणाली विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
पर्यटन क्षेत्रलाई अर्घाखाँचीको आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई एकीकृत गर्दै पर्यटन सर्किट निर्माण गर्ने अवधारणा सार्वजनिक गरिएको छ। सुपा देउराली, पाणिनी तपोभूमि, ऐतिहासिक मठ–मन्दिर, गुफा र प्राकृतिक स्थललाई व्यवस्थित पूर्वाधार, सडक, पदमार्ग र आवश्यक सेवा सुविधासँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना छ। स्थानीय स्तरमा होमस्टे, होटल तथा पर्यटन व्यवसायलाई सहुलियत ऋण र तालिममार्फत प्रवर्द्धन गरिने उनले बताएका छन्।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिइने, डिजिटल कक्षा, प्रयोगशाला, पुस्तकालय र छात्रवृत्ति कार्यक्रम विस्तार गरिने तथा प्राविधिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। स्वास्थ्य क्षेत्रमा जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने, विशेषज्ञ चिकित्सक व्यवस्था गर्ने, २४ घण्टा सेवा, निःशुल्क औषधि तथा स्वास्थ्य बीमा विस्तार गर्ने र प्रत्येक पालिकामा आधारभूत स्वास्थ्य केन्द्र सुदृढ गर्ने योजना अघि सारिएको छ।
पूर्वाधार विकासतर्फ रणनीतिक सडक स्तरोन्नति, पुल निर्माण, ग्रामीण सडक विस्तार, खानेपानी तथा सिँचाइ परियोजना कार्यान्वयनलाई प्राथमिकता दिइने बताइएको छ। ऊर्जा, सिँचाइ र बाढी नियन्त्रणका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाउने, विद्युत् उत्पादन र वितरण सुधार गर्ने तथा ग्रामीण क्षेत्रमा स्थायी पूर्वाधार निर्माण गरिने उनको प्रतिबद्धता छ। साथै सामाजिक समावेशितालाई ध्यानमा राख्दै महिला, दलित, जनजाति, विपन्न र भूमिहीन समुदायका लागि विशेष कार्यक्रम, सहुलियत ऋण र सामाजिक सुरक्षा योजना सञ्चालन गरिने उल्लेख गरिएको छ।
समग्रमा भुसालले अर्घाखाँचीलाई अवसरको जिल्ला बनाउने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचारमुक्त प्रशासन स्थापना गर्ने र स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित विस्तृत कार्ययोजना सार्वजनिक गरेका हुन्। उनले अबको चुनाव व्यक्तिको नभई एजेन्डा र कामको प्रतिस्पर्धा भएको भन्दै जनताको साथ र विश्वास पाएमा घोषणा गरिएका सबै कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। भुसाल यो भन्दा पोहिला पनि दुई पटक चुनाबमा हुमिएका थिए ।
उहाँको बाचा पत्र हेर्न यहाँ किलिक गर्नु होला 👇️

