यी हुन् आज दिनभरका समाचार

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार 

Workplace

१. अविरल वर्षाले कालीगण्डकी नदीको बहाव उच्च रहेपछि हेर्ने क्रममा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ।कालीगण्डकी नदीको बहाव पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा लडेर बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर स्थानीय ५५ वर्षीय चित्र गोतामेको आइतबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।यसैबीच बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। शनिबार एक जनाको मृत्यु भएको थियो।प्रहरी प्रमुख प्रसाईका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ। रासस

२. भारी वर्षापछिको बाढी र पहिरोका घटनामा परी देशभर २१ जनाको मृत्यु भएको छ।पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छपहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो।बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ।विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ।विभिन्न जिल्लाबाट जोखिममा परेका करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५०० दशमलव २ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ।

३. फाइबर चुँडिएपछि धवलागिरीका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ।पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो।म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताए।टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुन्छन्’, उनले भने, ‘वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन।

४. वर्षा कम भएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडक सञ्चालनमा ल्याउन काम तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहितका सडक आज दिउँसोसम्म खुलाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।बुधबारदेखि परेको लगातार वर्षाका कारण काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका थिए। आइतबार वर्षा कम भएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा ल्याएर पोखरातर्फ जाने सवारी साधन चलाइएको थियो। मुग्लिन–काठमाडौं सडकखण्डका विभिन्न स्थानमा पनि पहिरो हटाइएको छ। केही ठाउँमा भने एकतर्फी यातायात मात्र सञ्चालनमा छ।आइतबार साँझ बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक पुनः दुवैतर्फ अवरुद्ध भएको छ। उक्त पहिरो हटाएर काठमाडौं जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।बाढीपहिरोका कारण कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरको मूलघाट–फिदिम, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा पनि यातायात प्रभावित भएको छ।ती सडकमा पहिरो हटाउने तथा आवश्यक स्थानमा डाइभर्सन निर्माण गरेर सवारी आवागमन सञ्चालन गर्ने प्रयास भइरहेको छ।

५. नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको छ।प्राविधिक स्तरमा छलफलपछि ‘राइनो क्रुज’ निकाल्ने तयारी गरिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान ७ः२० बजेसम्म पुललाई क्षति नहुने गरी क्रुज निकाल्ने प्रयासका लागि प्राविधिक छलफल भइरहेको छ। क्रुज निकाल्न आवश्यक यान्त्रिक उपकरणसमेत तैनाथ अवस्थामा राखिएको कार्यालयले जनाएको छ।

६. भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आएको भीषण वर्षा, चट्याङ र तिब्र वेगको हावाहुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।राज्यका ६३ जिल्लामा सामान्यभन्दा धेरै वर्षा मापन गरिएको छ।भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया(पीटीआई) का अनुसार विगत २४ घण्टामा उत्तर प्रदेशमा सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको छ।प्रतिकूल मौसमका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । प्राप्त विवरण अनुसार पाँच जनाको ज्यान माटोको पर्खाल भत्किँदा गएको हो भने अन्य पाँच जनाको रूख ढलेर थिचिँदा मृत्यु भएको छ।घटनामा घाइते भएका १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।मौसमको यो विपद्ले राज्यका ११७ घरहरूमा आंशिक वा पूर्ण रूपमा क्षति पुर्‍याएको छ भने तयार भइसकेको बालीनाली पनि नष्ट भएको छ।भारी वर्षाका कारण राज्यका केही क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै शतर्कता अपनाउन आग्रह गरिएको छ।मौसम विभागका अनुसार आगामी केही दिनसम्म मध्य, पूर्वी र दक्षिणी भारतका विभिन्न राज्यमा वर्षा सक्रिय रहने अनुमान गरिएको छ । विपद् व्यवस्थापन विभागले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तिब्रता दिएको छ।प्रशासनले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र सम्भावित बाढी वा पहिरोप्रति सजग रहन आग्रह गरेको छ।

७. ललितपुरको धापाखेलमा पहिरोले साढे तीनतले एउटा घर ढलेको छ।ललितपुर महानगरपालिका–२४ स्थित प्रगति टोलमा मञ्जु कुमारी राईको घर पहिरोमा परी पूर्ण रूपमा ढलेको हो। महानगरपालिकाका नगर प्रहरी विज्ञ सीताराम हाछेथुले पहिरोका कारण घर ढलेको जानकारी दिनुभयो।घर ढले पनि त्यहाँ रहेका मानिसहरू भने सकुशल रहेको बताइएको छ। लगातारको वर्षापछि पहिरोले जमिन कमजोर बनाएपछि घर ढलेको प्रारम्भिक अनुमान गरिएको छ।

८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो।प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईँविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।जेनजी सहिद रसिक खतिवडाकी आमासमेत रहेकी सांसद रचनाविरुद्ध प्रसाईँले ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्ने अभिव्यक्ति दिएको आरोप छ। उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन्।सांसद खतिवडाको परिवारबाट प्रसाईँविरुद्ध उजुरी परेको बताइएको छ। प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पुर्जी लिएर आएका प्रहरीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

९. मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ।नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो।यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव फेला परेको थियो।थप दुई शव भेटिएसँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। एसोसिएसनले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ।

१०. गुणस्तर परीक्षण समेत सफल भएको स्याउको उत्पादनले बर्षेनि सम्भावनाको आसा देखाउन थालेपछि ताप्लेजुङको हिमाली बस्ती फले र घुन्सामा स्याउको व्यावसायिक खेती गर्न सकिने देखिएको छ।स्याउमा हुनुपर्ने स्वाद, दाना र चिनीको मात्रामा गुणस्तरीयता परीक्षण समेत सफल हुनु र परीक्षण उत्पादनले सम्भावना देखाउनुले स्याउको व्यावसायिक खेती गर्न सकिने बलियो आधार प्राप्त भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका लागि रोपेका स्याउका बोटले गुणस्तरीय फल दिँदा स्थानीयमा उत्साह बढेको पालिका अध्यक्ष लिम्बूको भनाई छ। स्थानीय नामग्याल शेर्पाले फलेमा फुजी,गाला र गोल्डेन डेलिसियस प्रजातिका स्याउको उत्पादन परीक्षणले व्यावसायिक खेतीको बलियो सम्भावना देखाएको जानकारी दिए। फले समुद्र सतहबाट करिब ३ हजार २ सय ३२ मिटरको उचाइमा रहेको बस्ती हो। घुन्सा भने समुद्र सतहबाट ३ हजार ४ सय ७५ मिटर उचाइमा रहेको छ। फले र घुन्सा कञ्चनजंघा पदमार्गमा पर्ने बस्ती हुन्। यो मार्ग हुँदै बर्षेनि ठुलो संख्यामा विदेशी पर्यटक विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा हिमालको आरोहण तथा भ्रमणका लागि जाने गरेका छन्। 

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?