रतन बहादुर रावल असोज १२ — हुम्लाको सिमकोट गाउँपालिका–२ का १० जना स्थानीय बासिन्दा जडीबुटी सङ्कलनका लागि गएको लामो समयपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि उनीहरूको अवस्था अज्ञात बनेको छ।

सिमकोट गाउँपालिका–२ निवासी तीन जना पुरुष र सात जना महिला गरी १० जना मिति २०८३/०५/३० गते घरबाट खार्पुनाथ गाउँपालिका–५ र चंखेली गाउँपालिका–४ को सिमानामा पर्ने लुंगे क्षेत्रमा जडीबुटी सङ्कलनका लागि गएका थिए। उनीहरू २०८३/०६/०८ गतेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जनाइएको छ।
लामो समयदेखि सम्पर्कविहीन भएपछि उनीहरूको जीवनरक्षाका लागि तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ। दुर्गम तथा उच्च हिमाली क्षेत्रमा मौसम प्रतिकूल बन्दै गएकाले उनीहरूको अवस्था पत्ता लगाउन ढिलाइ नगरी आवश्यक पहल गर्न माग गरिएको हो।
सम्पर्कविहीन हुनेमा धनमानसिंह बोहरा, पिजली बोहरा, पुन बोहरा, हरिश्चन्द्र भण्डारी, धनपुरी भण्डारी, बलिबान बोहरा, जुन बोहरा, नर भण्डारी, खिम भण्डारी र लक्ष्मी बोहरा रहेका छन्।
परिवार तथा आफन्तले उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन र सम्बन्धित सुरक्षा तथा उद्धार निकायबाट खोजी अभियान सञ्चालन गर्न माग गरेका छन्।
