
- सांसद आशिका तामाङले दशैँ-तिहारअघि अवरुद्ध सडक मर्मत गरी सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारसँग माग गरिन्।
- पृथ्वी राजमार्गमा पहिरो र सडक भासिँदा उत्पन्न समस्या तत्काल समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
- वर्षाका कारण पीडित बनेका नागरिकको क्षति मूल्यांकन गर्दै राहत र पुनर्स्थापनाको व्यवस्था गर्न उनले जोड दिइन्।
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार संसदमा बोल्दै उनले पछिल्लो तीन-चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने र सडक भासिने क्रम जारी रहेकाले यातायात सञ्चालनमा अवरोध पुगेको बताइन्।
‘नेपालीहरूको महान् चाड दशैँ-तिहार नजिकिँदै गर्दा सर्वप्रथम सडक नै सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्।
सांसद तामाङले पृथ्वी राजमार्गको नदी किनारमा बसोवास गर्ने नागरिकका घर, जग्गा र निजी सम्पत्तिमा भएको क्षतिको तत्काल मूल्यांकन गरी वास्तविक पीडितलाई राहत, पुनर्स्थापना र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिन्।
