
- उत्तर प्रदेशमा भीषण वर्षा र हुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
- भारी वर्षाले ११७ घरमा क्षति पुर्याउनुका साथै धेरै बालीनाली नष्ट गरेको छ।
- प्रशासनले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्दै बाढीको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशमा आएको भीषण वर्षा, चट्याङ र तिब्र वेगको हावाहुरीका कारण १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

राज्यका ६३ जिल्लामा सामान्यभन्दा धेरै वर्षा मापन गरिएको छ । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) का अनुसार विगत २४ घण्टामा उत्तर प्रदेशमा सामान्यभन्दा १९ गुणा बढी वर्षा भएको छ ।
प्रतिकूल मौसमका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । प्राप्त विवरणअनुसार पाँच जनाको ज्यान माटोको पर्खाल भत्किँदा गएको हो भने अन्य पाँच जनाको रूख ढलेर थिचिँदा मृत्यु भएको छ । घटनामा घाइते भएका १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मौसमको यो विपद्ले राज्यका ११७ घरहरूमा आंशिक वा पूर्ण रूपमा क्षति पुर्याएको छ भने तयार भइसकेको बालीनाली पनि नष्ट भएको छ । भारी वर्षाका कारण राज्यका केही क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै शतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसम विभागकाअनुसार आगामी केही दिनसम्म मध्य, पूर्वी र दक्षिणी भारतका विभिन्न राज्यमा वर्षा सक्रिय रहने अनुमान गरिएको छ । विपद् व्यवस्थापन विभागले प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तिब्रता दिएको छ ।
प्रशासनले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र सम्भावित बाढी वा पहिरोप्रति सजग रहन आग्रह गरेको छ ।
