काठमाडौं।पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्तका रूपमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राईलाई कानुनी घेरामा ल्याउन कास्की जिल्ला अदालतले ऐतिहासिक कदम चालेको छ। न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राईको राहदानी तत्काल रद्द गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागलाई लिखित रूपमा पत्र पठाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।

ठगी प्रकरणमा संलग्न केही अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन् भने केही धरौटीमा रिहा भएका छन्। तर ठगीबाट प्रभावित हजारौं पीडितहरू अझै न्यायका लागि संघर्षरत छन्। सरकारी वकिलको कार्यालयले पीडितहरूको न्याय सुनिश्चित गर्न बिहीबार अदालतमा विशेष निवेदन दर्ता गरेपछि अदालतले कठोर कदम उठाएको हो।
अब अदालतको पत्र राहदानी विभागमा पुगेपछि फरार राईको राहदानी रद्द गरी उनलाई कानुनी प्रक्रियामा ल्याउने काम अघि बढ्नेछ। यो कदम ठगी काण्डका दोषीलाई न्यायको कठघरामा ल्याउन महत्वपूर्ण माइलको रूपमा हेरिएको छ।
