
- मुगुको मुर्मा गाउँ सडक सञ्जालसँग नजोडिँदा स्थानीय बासिन्दाहरू वर्षौंदेखि कठिनाइ भोग्न बाध्य छन्।
- यातायातको अभावमा किसानका स्याउ, आलु र सिमी जस्ता कृषि उत्पादनहरू बजार नपाएर खेर गइरहेका छन्।
- रारा ताल नजिकै भएर पनि गाउँमा सडक नहुँदा स्थानीय दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पैदल यात्रा र खच्चडमा भर पर्नुपर्छ।
रतन बहादुर रावल -मुगु भौगोलिक विकटताले पछाडि परेको हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ९, मुर्मा गाउँ अझै पनि सडक सञ्जालबाट जोडिन सकेको छैन। यातायातको पहुँच नहुँदा यहाँका स्थानीय कृषकहरूले वर्षभरि दुःख गरेर फलाएका स्याउ, आलु र सिमी जस्ता कृषि उपजहरू बजार पाउन नसकी बोटमै कुहिने र खेर जाने गरेका छन्।

स्थानीय कृषक सौभाग्य रोकाय ले आफ्नो पीडा पोख्दै भन्नुभयो, “जति फले पनि के गर्नु? बजारीकरण र यातायातको सुविधा नहुँदा यहाँको स्याउ मात्र होइन, अन्य बालीहरू आलु, सिमी र कृषकले फलाएका विभिन्न वस्तुहरू पनि त्यत्तिकै खेर जाने गरेका छन्।
सडकको भरपर्दो सुविधा भइदिएको भए हामी कृषकलाई खेतीपाती गर्न अझ धेरै सहजता हुने थियो।”

रारा तालकै काखमा पीडादायी जीवनविश्वप्रसिद्ध पर्यटकीय स्थल, अर्थात् ‘स्वर्गकी अप्सरा’ उपनामले चिनिने राराताल यही मुर्मा गाउँको क्षेत्रमा पर्दछ। यति ठूलो पर्यटकीय महत्त्व बोकेको गाउँकै काखमा राराताल भए पनि अहिलेसम्म गाउँसम्म सडक नपुग्नु निकै पीडादायक भएको स्थानीयवासीहरूको भनाइ छ।

गाउँलेहरू अहिले पनि जिल्ला सदरमुकाम गमगढी जानका लागि पैदल हिँड्न बाध्य छन्। गमगढीबाट दैनिक उपभोग्य सामान ल्याउँदा कि त खच्चडको भर पर्नुपर्छ, कि त मानिस आफैँले पिठ्युँमा बोकेर ल्याउनुपर्ने बाध्यता कायमै छ।सदरमुकाम गमगढीबाट वडा नम्बर ८ को नजिकै पर्ने सल्लेरीसम्म गाडी पुग्ने गरे तापनि, त्यहाँबाट मुर्मा गाउँ पुग्न फेरि लामो दूरीको पैदल यात्रा तय गर्नुपर्छ। पर्यटकीय सम्भावना र कृषि उत्पादनमा धनी भएर पनि मुर्मा गाउँ उपयुक्त सडक पूर्वाधारको पर्खाइमा छ।
