
- नेपालगञ्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको छ।
- अवतरण गर्ने बेला जहाजको पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।
- जहाजमा सवार १३ जना यात्रु सकुशल रहेका छन् र थप विवरण संकलनको काम भइरहेको छ।
काठमाडौ – नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जाेगिएकाे छ ।

अवतरणका क्रममा जहाजकाे पछाडिको दाहिनेतर्फको चक्का टायर फुत्किएर बाहिर निस्किएको थियाे ।
बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिने साइडको चक्का फुत्किएर बाहिर निस्किएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्ताेष सिंह राठौरका अनुसार उक्त जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए ।
सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ ।
चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको राठौरले जानकारी दिए । जहाज अहिले विमानस्थलको रनवे मै छ ।
घटनापछि जहाज र त्यसमा सवार यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे छ ।
