
- बुधबार र बिहीबार देशभरका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
- शुक्रबारदेखि आइतबारसम्म अधिकांश प्रदेशमा भारीदेखि अति भारी वर्षा हुनेछ।
- गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा अति भारी वर्षाको उच्च जोखिम छ।
काठमाडौं।शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार वर्षाको गतिविधि थप बढ्ने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ।
शुक्रबार भने वर्षाको प्रभाव अझ बढ्ने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ। शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
