
- त्रिपुरेश्वरमा बसमा जलेर चालक अर्जुन दोङको मृत्यु भएपछि यातायात व्यवसायी र श्रमिकले कीर्तिपुरमा प्रदर्शन गरेका छन्।
- प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्।
- सवारी चालकमाथि ट्राफिक प्रहरीले गर्ने ज्यादती बन्द नभए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन्।
काठमाडौं।यातयात व्यवसायी तथा श्रमिकहरुले कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।

स्वतन्त्र चालक संघ नेपालको अगुवाईमा यातयात व्यवसायी तथा श्रमिकहरुले मंगलबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन् । काठमाडौंको त्रिपुरेश्वरमा सोमवार बसमा जलेर चालक अर्जुन दोङको मृत्यु भएको थियो । उक्त घटनाको विरोधमा दोङका परिवार र यातयात व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । साथै उनीहरुले ट्राफिक प्रहरीले अनाश्यक दुख दिने गरेको आरोप समेत लगाएका छन् ।
प्रदर्शनमा सहभागीहरुले सवारी चालकहरू माथी ट्राफिक प्रहरीले गर्ने ज्यादती बन्द गर्नुपर्ने, मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, चालक आयोग गठन गरेर घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) का महासचिव नवराज दाहालले राज्यले सवारी चालक र सहचालकलाई अन्याय गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले पीडितलाई उचित राहत दिएर दोषिलाई कारबाही नगरे श्रमिकहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो
