
- गएराति कोशी र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने संखुवासभामा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ।
- अहिले देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको र थप वर्षाको सम्भावना कायमै रहेको छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज ठूलो वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौ – गएराति देशका धेरैजसो ठाउँमा हल्का पानी परेपनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ ।

पछिल्लो १२ घण्टामा संखुवासभाको टाँसीगाउँमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा मापन भएको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तनहुँको थप्रेकमा १५७ मिलिमिटर,स्याङजाको डण्डस्वारामा १२७ मिलिमिटर वर्षा मापन भएको छ । साथै कास्की, लमजुङ र गोरखामा पनि ६० मिलिमिटरभन्दा धेरै नै वर्षा भएको छ ।
अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ । ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज कोशी ,बागमती र गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ
