काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले नेपाली संगीत क्षेत्रमा आफ्नो ऐतिहासिक कीर्तिमान राखेकी छन्। उनले गाएको ‘रूकुम मैकोट’ युट्युबमा सबभन्दा छोटो समयमा १० करोड पटक हेरिने पहिलो नेपाली गीत बनेको छ। नेपाली फिल्म ‘खुश्मा’ मा समावेश एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यो गीतले ५ महिनामै १० करोड भ्युज पार गर्दै इतिहास रचेको हो।

यसैबीच, शान्तिश्रीकै अफिसियल गीत ‘अरेली काँडैले’ पनि लोक संगीत विधामानै १० करोड भ्युज पार गर्ने पहिलो गीत बन्न सफल भयो। डेढ वर्षअघि सार्वजनिक भएको नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत र शान्तिश्रीको एकल स्वरमा रहेको यो गीत दर्शक/श्रोतामाझ अत्यधिक रुचाइएको गित थियो ।
दुई गीतले १ दिनको फरकमा १० करोड भ्युज पार गरेपछि शान्तिश्रीले फेसबुकमार्फत आफ्नो खुसी व्यक्त गर्दै उनले यस्तो लेखेकी छन्,
“यो मेरो लागि निक्कै खुसीको कुरा हो। आदरणीय दर्शक/श्रोताहरूको अगाध माया पाएका कैयौं गीतहरूमा मेरो स्वर मिसिएको छ। यो अर्थमा म भाग्यमानी पनि हुँ जस्तो लाग्छ। कर्म र भाग्यको संयोग कहिँ न कहिँ राम्रै मिलेको छ।”
उनले ‘अरेली काँडैले’ को सफलतामा योगदान दिने सबैलाई सम्झिँदै खेम सेञ्चुरी, नेत्र अर्याल, गम्भीर बिष्ट, प्रकाश सपुत, अञ्जली अधिकारी, नवराज उप्रेती, मिलन विश्वकर्मा लगायत प्रदा पछाडी बाट साथ दिने सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेको छ्न ।
संगीत क्षेत्रमा लगातार चर्चामा रहेकी शान्तिश्री मेला/महोत्सव तथा रेकर्डिङमा व्यस्त गायिका हुन । यसैबीच, उनको स्वर रहेको फिल्म ‘लाज शरणम्’ को गीत ‘हेर्दा हेर्दैमा’ पनि लोकप्रिय बन्दै गइरहेको छ।
शान्तिश्रीले आफ्नो संकल्प दोहोर्याउँदै लेखेकी छन्,”जस्तोसुकै परिस्थितिमा पनि नडगमगाई अगाडि बढ्ने उर्जा मेरो लागि दर्शक/श्रोता नै हुनुहुन्छ। म न त दुखमा आत्तिन्छु, न त खुशिमा मात्तिन्छु। सकारात्मक उर्जाका साथ गीत-संगीतमा निरन्तरता दिने संकल्प गरेकी छु। जबसम्म भगवान सरस्वती माताको आशिर्वाद रहनेछ, तबसम्म म यही निरन्तरता कायम गर्ने छु।
१० करोड क्लबमा सामेल भएका गीत पूरा भिडियो सहित

