
- माओ त्सेतुङको निधनको पाँच दशकपछि चिनियाँ युवा पुस्तामा उनको विचारधाराप्रति आकर्षण बढेको छ।
- उच्च बेरोजगारी र कठिन कार्यशैलीका कारण वर्तमान व्यवस्थाप्रति युवाहरूमा गहिरो निराशा देखिएको छ।
- शोषक र शोषितको माओवादी भाष्यलाई युवाहरूले आफ्नो आर्थिक असुरक्षा व्यक्त गर्ने माध्यम बनाएका छन्।
माओ त्सेतुङको निधन भएको ५० वर्ष बित्यो । तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेषगरी ’जेन–जी’ भनिने युवाहरूमाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढिरहेको छ ।

चिनियाँ युवाहरू हिजोआज अनलाइन प्लेटफर्महरूमा माओलाई ‘नेता’ भन्दा पनि ‘शिक्षक’ को रूपमा प्रस्तुत गरिरहेका छन् । चिनियाँ भिडिओ प्लेटफर्म ’बिलिबिली’मा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडिओहरूले लाखौँ भ्युज पाइरहेका छन् भने हजारौँ सकारात्मक कमेन्टहरू आइरहेका छन् ।
चीनको प्रतिष्ठित चिङ्ख्वा विश्वविद्यालयको पुस्तकालयमा सन् २०१९ यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन् ।जानकारहरूका अनुसार, यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनियाँ समाजप्रतिको युवाहरूको निराशा हो ।
पछिल्लो तथ्याङ्कअनुसार चीनमा युवा बेरोजगारी झन्डै १८ प्रतिशत पुगेको छ । हप्ताको ६ दिन, बिहान ९ बजेदेखि राति ९ बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन् ।
सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन् । यस्तो अवस्थामा, पुँजीवादको आलोचना गर्ने र समाजलाई ’शोषक र शोषित’ भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूलाई आफ्नै भोगाइसँग मिल्दोजुल्दो लाग्न थालेको छ ।
विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनियाँ युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ
