
- भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको छ।
- बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना व्यक्ति सम्पर्कविहीन अवस्थामा छन्।
- मृतकको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया जारी राखिएको छ।
काठमाडौं।भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् ।
उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन् । तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् ।
मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ । हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ । यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।
