
- एनआरएनए जापानको क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी सेप्टेम्बरमा हुने भनिएको सांस्कृतिक महोत्सव रद्द गरेको छ।
- नेपालमा आएको विनाशकारी बाढी र पहिरोका कारण उत्पन्न दुःखद परिस्थितिलाई मध्यनजर गर्दै सो निर्णय लिइएको हो।
- समितिले विपद् पीडितहरूप्रति समवेदना व्यक्त गर्दै यस्तो कठिन घडीमा उत्सव मनाउनु उचित नहुने निष्कर्ष निकालेको छ।
टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानअन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले आगामी सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६’ रद्द गर्ने निर्णय गरेको छ।

एनआरएनए चिबाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद परिस्थितिलाई मध्यनजर गर्दै उत्सवमूलक कार्यक्रम आयोजना गर्नु उचित नहुने निष्कर्षसहित महोत्सव रद्द गरिएको जनाएको छ।
यसअघि महोत्सव २०२६ सेप्टेम्बर १९ र २० तारिख जापानको चिबास्थित फुनाबाशी केइबाज्योमा आयोजना गर्ने तयारी थियो। नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै नेपाल–जापानबीचको सांस्कृतिक आदानप्रदान र मित्रता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको थियो।
संस्थाका अनुसार महोत्सवका विषयमा जापानवासी नेपाली समुदाय, विभिन्न संघसंस्था, समाजसेवी, सल्लाहकार तथा एनआरएनए आईसीसी जापानसँग आवश्यक परामर्श र सुझावसमेत लिइएको थियो। त्यसपछि आइतबार बसेको एनआरएनए चिबाको नियमित बैठकले वर्तमान परिस्थितिमा महोत्सव आयोजना गर्नु उचित नहुने निर्णय गरेको हो।
एनआरएनए चिबाले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति ऐक्यबद्धता, सहयोग र मानवीय संवेदना व्यक्त गर्नु अहिलेको प्राथमिकता रहेको जनाएको छ।
महोत्सवको तयारीका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने प्रायोजक, सह–प्रायोजक, संघसंस्था, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, व्यवसायी तथा जापानवासी नेपाली समुदायप्रति आयोजकले आभारसमेत व्यक्त गरेको छ।

टोकियो, जापान ।