
- मुगुको छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
- उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय भएको छ।
- नगर प्रमुखले विपद्को यस घडीमा सबै पक्षलाई एकजुट भई राहत र उद्धारमा लाग्न आह्वान गरेका छन्।
रतन बहादुर रावल गमगढी, मुगु । कर्णालि प्रदेशको मुगुस्थित छायाँनाथ रारा नगरपालिकाले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको राहत तथा उद्धारका लागि रु. १,००,०००।- (एक लाख रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख विष्णु कुमार भामद्वारा जारी विज्ञप्ति अनुसार, मिति २०८३ भदौ १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले पुऱ्याएको मानवीय तथा भौतिक क्षतिप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।
नगरपालिकाले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी, उद्धार र राहतको व्यवस्था गर्न माग गरिएको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारका सबै तह, राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकबीच बलियो एकता र सहकार्य हुनुपर्नेमा नगर प्रमुख भामले जोड दिनुभएको छ ।
