
- आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।
- वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नदी किनार तथा भिरालो जमिनमा बस्नेलाई सतर्क रहन भनिएको छ।
- विपद्को जोखिमलाई मध्यनजर गर्दै उद्धार टोली र उपकरण तयारी अवस्थामा राखिएको छ भने आपत्कालीन नम्बरहरू सुरक्षित राख्न आग्रह गरिएको छ।
काठमाण्डौ – आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रको एक–दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना छ । साथै तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना छ ।
लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन विपद् प्राधिकरणले अनुरोध गरेको छ । विशेष गरी खोला, खोल्सा र नदी आसपासको क्षेत्र, पहिरोको जोखिम भएका ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।
यात्रामा पनि सावधानी अपनाउन भनिएको छ । प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवकसहित सबै सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर र लोडरजस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद् व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्वतयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ ।
साथै, वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । साथै, जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरेको छ ।
