
- मुगुको छायाँनाथ रारा नगरपालिकालाई तोकिएका सबै मापदण्ड पूरा गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
- नगरपालिकाका सबै वडाका लक्षित उमेर समूहका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएपछि औपचारिक रूपमा यो घोषणा गरिएको हो।
- यससँगै मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीनवटा पालिका पूर्ण खोप सुनिश्चित भइसकेका छन् र बाँकी एक पालिकाको घोषणासँगै जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिनेछ।
रतन बहादुर रावल।
असार १६ मुगु
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै सूचक तथा मापदण्ड पूरा गरेपछि मुगुको छायाँनाथ रारा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिताः पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षतामा मंगलवार नगरपालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

नगर प्रमुख विष्णु कुमार भामले राष्ट्रिय खोप कार्यक्रमअनुसार छायाँनाथ रारा नगरपालिकाका वडा नम्बर १ देखि १४ सम्मका लक्षित उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिएको बताए । उहाँले आगामी दिनमा कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने गरी नियमित अनुगमन, अभिलेख व्यवस्थापन तथा खोप सेवाको प्रभावकारी सञ्चालनलाई निरन्तरता दिइने बताए।
नगर उपप्रमुख ऐश्वर्य मल्लले पूर्ण खोप सुनिश्चितताको अवस्था कायम राख्न अभिभावक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले खोप निर्देशिका, २०७१ मा उल्लेखित सबै प्रक्रिया तथा मापदण्ड पूरा गरी नगरपालिकालाई घोषणा गरिएको जानकारी दिँदै गुणस्तरीय खोप सेवाको निरन्तरता नगरपालिकाको प्राथमिकतामा रहेको बताए ।
यता स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार घरधुरी सर्वेक्षणबाट छायाँनाथ रारा नगरपालिका भित्र १६ देखि ५९ महिनासम्मका १ हजार १७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको छ भने जन्मेदेखि १५ महिनासम्मका ४ सय ५० जना बालबालिका नियमित खोप सेवामा आबद्ध रहेका छन्। आवश्यक तथ्याङ्क प्रमाणीकरण, वडा तथा पालिका स्तरको सिफारिस र जिल्ला खोप समन्वय समितिको अनुमोदनपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।
यस घोषणासँगै मुगु जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका र सोरु गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा भइसकेका छन्। अब जिल्लामा खत्याड गाउँपालिका मात्र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुन बाँकी रहेको र त्यसपछी जिल्ला खोप समन्वय समितिको आयोजनामा जिल्ला लाईनै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित गरिने जनाईएको छ ।
