
- मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना हुँदैछ।
- ओली प्रचण्ड र माधव नेपाल लगायतका शीर्ष नेताहरू एकै मञ्चमा उपस्थित भएर सम्बोधन गर्नेछन्।
- कम्युनिस्ट नेताहरूको यो साझा उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उनीहरू सहभागी हुन लागेका हुन्।
मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।
गोष्ठीमा ओली र प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
पछिल्लो समय फरक–फरक राजनीतिक धारमा सक्रिय रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपाली कम्युनिस्ट आन्दोलनका विविध पक्षबारे छलफल हुने जनाइएको छ।
