
- कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको छ।
- सीमा समस्या समाधानका लागि तेस्रो पक्षको आवश्यकता नभएको प्रधानमन्त्रीले बताउनुभयो।
- छिमेकी राष्ट्रसँग प्रत्यक्ष संवादमार्फत सीमा विवाद सुल्झाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौ – प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताउनुभएको छ ।

चितवनमा आजदेखि शुरू भएकाे पार्टीको पहिलाे महाधिवेशनकाे उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताउनुभएको हो । उहाँले केही समयअघि प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि उहाँको आलोचना भएको थियो । त्यही मन्तव्यको स्पष्टीकरण उहाँले पार्टीको महाधिवेशनमा दिनुभएको हो ।
प्रधानमन्त्री शाहले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्ष वा वैदेशिक मध्यस्थकर्ताको आवश्यकता नरहेको समेत प्रस्ट पार्नुभयो । नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कालापानी र लिपुलेककाे प्रमाण हामीसँग छ । हामीले पहिला ब्रिटिशले राज गर्दा बखतकाे प्रमाण ल्याउनुपर्छ भनेका हौँ । हामीले ब्रिटिशलाई मध्यस्थकर्ता राख्न खोजेको होइन । हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ । मेरो राष्ट्रियताप्रति कसैले आशङ्का गर्नुपर्दैन ।’
प्रधानमन्त्री शाहले राष्ट्रियताको रक्षाका लागि सरकार दृढ रहेको र प्रमाणका आधारमा सीमाको रक्षा गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
