
समाचार सारांश
Auto Generated by AI
- मुगुको खत्याड गाउँपालिकामा जङ्गली घोरलको एउटा बच्चा फेला परेको छ।
- स्थानीय महिलाले घरतर्फ लैजाँदै गर्दा प्रहरीले बच्चालाई उद्धार गरी सुरक्षित राखेको छ।
- थप संरक्षणका लागि प्रहरीले डिभिजन वन कार्यालयलाई जानकारी गराएको छ।
मुगु जिल्लाको खत्याड गाउँपालिकामा फेला पारिएको एक जङ्गली घोरलको बच्चालाई प्रहरीले उद्धार गरेको छ।
खत्याड गाउँपालिका वडा नम्बर ८ सुकाढिक बस्ने ५६ वर्षीया नानी नेपालीले सोही वडाको कालिबाडा भन्ने स्थानमा घाँस काट्ने क्रममा घोरलको बच्चा फेला पारेकी थिइन्। वनबाट फेला पारेको उक्त बच्चालाई उनले आफ्नो घरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी सुकाढिकको नियमित गस्ती टोलीले फेला पारेको हो।
उक्त टोलीले घोरलको बच्चालाई नियन्त्रणमा लिई सुरक्षित स्थानमा राखेको छ। घटनाबारे सुकाढिक चौकीका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) नन्द बहादुर रावतले जिल्ला प्रहरी कार्यालय, मुगुमा लिखित रूपमा जाहेरी (जानकारी) गराइसक्नुभएको छ।
प्रहरीका अनुसार उक्त वन्यजन्तुको आवश्यक संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित डिभिजन वन कार्यालय मुगुलाई समेत खबर गरिसकिएको छ। वन कार्यालयका
प्रतिनिधि आएपछि उक्त घोरलको बच्चालाई आधिकारिक रूपमा बुझाइने प्रहरीले जनाएको छ। घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।
