
समाचार सारांश
Auto Generated by AI
- कर्णालीका दलितहरूले समाज निर्माणमा महत्त्वपूर्ण योगदान दिए पनि अझै जातीय छुवाछूत र चरम विभेद भोग्न बाध्य छन्।
- राजनीतिक परिवर्तन र संवैधानिक हकका ठूला आश्वासनहरूले कर्णालीका दलितहरूको जीवनस्तरमा कुनै सकारात्मक परिवर्तन ल्याउन सकेका छैनन्।
- शिक्षा, स्वास्थ्य र आधारभूत अधिकारबाट वञ्चित उनीहरूको दयनीय अवस्था आजको सभ्य समाज र राज्य संयन्त्रका लागि गम्भीर चुनौती बनेको छ।
रतन रावल मुगु
सन् १९३० को दशकमा भारतमा डा. भीमराव अम्बेडकर र ज्योतिराव फुलेको वैचारिक आन्दोलनबाट उत्पीडित, दमन गरिएका र पानी नचल्ने बनाइएका जातिहरूका लागि ‘दलित’ शब्दको प्रयोग सुरु भएको थियो। आज २१ औं शताब्दीमा संसार प्रविधिको उच्च शिखरमा पुग्दा पनि नेपालको कर्णाली प्रदेशका दलित समुदायको नियति भने अझै फेरिन सकेको छैन। सुन्दर तर भौगोलिक रूपमा विकट कर्णालीभित्रका दलितहरूको पीडा शब्दमा बयान गर्न नसकिने गरी मार्मिक र कहालीलाग्दो छ।

सदियौंदेखि सिंगो समाजलाई कपडा सिलाएर आङ ढाकिदिने, फलाम पिटेर खेतीपातीका औजार बनाइदिने र आरनको रापमा पग्लिएर समाजलाई आधुनिक बनाउन सघाउने यही समुदाय हो। तर आफ्नै रगत र पसिना बगाएर समाज निर्माण गर्ने यी शिल्पीहरूलाई नेपाली समाजले कहिल्यै आफ्नो ठानेन, बरु ‘अछूत’ र ‘पछाडि पारिएको’ उपमा मात्र दिइरह्यो।
आज पनि कर्णालीका दूरदराजका दलित बस्तीहरूमा भोक, रोग र विभेदको साम्राज्य कायमै छ। गैर-दलितको आँगनमा टेक्न नपाउने, पानीको पँधेरो छुँदा कुटिनुपर्ने र मन्दिरको संघारबाटै लखेटिनुपर्ने अमानवीय नियति अझै बदलिएको छैन। आरनको रापमा उनीहरूको उमेर पग्लिएर जान्छ, तर घरको चुल्होमा दुई छाक टार्ने आशा कहिल्यै राम्रोसँग बल्न सकेको देखिँदैन।

देशमा ठूला-ठूला राजनीतिक व्यवस्थाहरू बद्लिए, शासकहरू फेरिए र संविधानका सुनौला अक्षरमा अधिकारहरू पनि लेखिए। तर कर्णालीका दूरदराजमा रहेका दलितका लागि न त ती अधिकार पुगे, न त राज्यको न्याय नै पुग्यो। उनीहरूका लागि राजनीति केवल चुनावमा भोट दिने र आश्वासनको भारी बोक्ने माध्यम मात्र बनिरहेको छ।
आफ्नै मातृभूमिमा शरणार्थी जस्तो जीवन जिउनु पर्ने, शिक्षा र स्वास्थ्यको उज्यालोबाट बञ्चित हुनुपर्ने र पाइलैपिच्छे आत्मसम्मानमा ठेस लाग्ने कर्णालीका दलितहरूको यो मौन रोदनले आज पनि देशको राज्य संयन्त्र, सामाजिक चेतना र मानवीय संवेदनालाई गिज्याइरहेको छ। यो केवल एउटा समुदायको पिछडिएको कथा मात्र नभएर सिंगो मानव सभ्यताकै एउटा गहिरो र निको नभएको घाउको रूपमा खडा भएको छ।
