
- राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
- देबिनगर क्रिकेट क्लबको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल परिसर सफा गरिएको हो।
- सहभागीहरूले सार्वजनिक स्थलको सरसफाइमा सबैको साझा दायित्व हुने बताएका छन्।
बुटवल । नेपाल सरकारले सञ्चालन गरिरहेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानलाई समर्थन गर्दै बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

देबिनगर क्रिकेट क्लब को आयोजनामा आज लुम्बिनी प्रादेशिक अस्पताल परिसर बाहिर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा क्लबका पदाधिकारी, युवा खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत अस्पताल परिसर बाहिर रहेका सडक किनारा, नाला तथा सार्वजनिक क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वच्छ वातावरण कायम राख्न सरसफाइ अत्यन्त आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल सरकारी निकायको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
नेपाल सरकारले वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत विभिन्न संघसंस्था तथा युवाहरूले पनि सार्वजनिक स्थलमा सरसफाइ कार्यक्रम गर्दै आएका छन्।
देबिनगर क्रिकेट क्लबले भोलि पनि आफ्नो सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ।
