
- बुटवलमा असुरक्षित गर्भपतन गराउने क्रममा स्वास्थ्यकर्मीको लापरवाहीले २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको छ।
- उपचारका क्रममा विभिन्न क्लिनिक र फार्मेसीमा धाउँदा स्वास्थ्य अवस्था बिग्रिएपछि लुम्बिनी सिटी अस्पताल पुर्याउँदा उनलाई मृत घोषणा गरिएको थियो।
- पीडित परिवारको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ।
बुटवल। रुपन्देहीको बुटवल मा गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–२ घर भई हाल तिलोत्तमा नगरपालिका–३ बस्दै आएकी २९ वर्षीया गीता पाण्डेको बुटवलका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि धाउँदाधाउँदै ज्यान गएको हो।

मृतकका परिवारले चिकित्सकको लापरवाही तथा क्लिनिकहरूको कमाउ धन्दाको चक्करमा गीताले अकालमै ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्।
परिवारका अनुसार गर्भमा दोस्रो सन्तान बसेपछि गीता र उनका श्रीमान् प्रकाश पाण्डे गत चैत २७ गते गर्भ परीक्षणका लागि बुटवलको इँटाभट्टीस्थित खत्री नर्सिङ होम पुगेका थिए। त्यहाँ डा. डीबी खत्रीले जाँच गरेपछि गर्भमा करिब १२ हप्ताको भ्रूण रहेको र भ्रूण असामान्य रहेको भन्दै गर्भपतन गराउन सुझाव दिएका थिए। त्यसपछि उनीहरूलाई वैशाख ४ गते पुनः बोलाइएको थियो।
वैशाख ४ गते नर्सिङ होम पुग्दा डा. खत्री उपस्थित नभएको भन्दै स्वास्थ्यकर्मीहरूले उनीहरूलाई फेरि वैशाख ५ गते बोलाएका थिए। वैशाख ५ गते पुनः पुगेपछि डा. खत्रीले ‘प्रेस्क्रिप्सन लेटर’ र ‘लोकेसन कार्ड’ दिई बुटवलकै जोनल फार्मेसीमा पठाएको परिवारको भनाइ छ।
जोनल फार्मेसी पुगेपछि त्यहाँका स्वास्थ्यकर्मीले गर्भपतन गराउन १६ हजार रुपैयाँ शुल्क लाग्ने भन्दै २ हजार रुपैयाँ अग्रिम लिएर दुई प्रकारका औषधि दिएका थिए। साथै वैशाख ६ गते पुनः आउन भन्दै घर पठाइएको गीताका श्रीमान् प्रकाश पाण्डेले बताए।
प्रकाशका अनुसार, “जोनल फार्मेसीले दुईवटा औषधि दिएर घर पठाएको थियो । फार्मेसीले भनेबमोजिम साँझ १ गोली र बिहान १ गोली खाएको हो । अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसीमा गयौँ, फेरि अर्को औषधि दिए।”
उनका अनुसार जोनल फार्मेसी पुगेपछि गीताको स्वास्थ्य अवस्था अचानक बिग्रिएको थियो। औषधिको प्रतिक्रिया देखिएपछि उनलाई पखाला लाग्न थालेको र केही समय फार्मेसीमै राखिएको थियो।
त्यहाँ उपचार प्रक्रिया सफल नभएपछि गीतालाई नजिकैको इन्दुलेखा क्लिनिकमा लगिएको थियो, जहाँ डा. सतीश रुपाखेतीले उपचार सुरु गरेका थिए। प्रारम्भिक अनुसन्धानले त्यहाँसमेत औषधि प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको देखाएको छ। लगातार औषधि प्रयोगपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि वैशाख ६ गते दिउँसो करिब ३ बजेतिर गीतालाई बुटवलकै लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुगेलगत्तै चिकित्सकहरूले जाँच गर्दा गीतालाई मृत घोषणा गरेका थिए।
श्रीमतीको मृत्युबारे प्रकाशले भने, “गीतालाई कुनै दीर्घ रोग थिएन, उनी स्वस्थ थिइन् । चिनेको डाक्टरसँग नियमित उपचार गराउँदा बिरामीको मृत्यु हुने अवस्था आयो । यो सरासर उपचारमा गम्भीर लापर्वाही हो । दोषीलाई कारबाही हुनुपर्छ ।”
श्रीमतीको मृत्यु भएपछि प्रकाशको काँधमा ५ वर्षीय छोराको जिम्मेवारी आएको छ।
प्रारम्भिक अनुसन्धानले अनुभवी तथा विशेषज्ञ चिकित्सकको सल्लाहबिना नर्सिङ होम, क्लिनिक र फार्मेसीमार्फत असुरक्षित तरिकाले औषधि प्रयोग गरिएको देखाएको छ।
इलाका प्रहरी कार्यालय, बुटवल का प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले पीडित परिवारले डाक्टर र स्वास्थ्यकर्मीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएको बताए।
पीडित परिवारले खत्री नर्सिङ होमका डा. डीबी खत्री, इन्दुलेखा क्लिनिकमा कार्यरत डा. सतीश रुपाखेती, जोनल फार्मेसीका सञ्चालक सन्ध्या बस्नेत, निलम घर्तीमगर तथा इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध जाहेरी दिएका छन्।
प्रहरी नायव उपरीक्षक श्रीवास्तवले भने, “अहिले हामीले तीन जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ । कमजोरी कसको हो भन्ने अनुसन्धानपछि खुल्नेछ ।”
प्रहरीले सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशले श्रीमती गीताको मृत्युमा मुख्य दोषी भन्दै डा. डीबी खत्री र डा. सतीश रुपाखेतीलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
चिकित्सकीय लापरवाहीका कारण गीताको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार र आफन्तले मंगलबार खत्री नर्सिङ होम, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसी घेराउ गर्दै तालाबन्दी गरेका छन्।
मृतक गीता पाण्डे रक्त सञ्चार सेवा केन्द्र भैरहवा की कर्मचारी रहेको जनाइएको छ।

