
- दाङको गढवामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको छ।
- घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको छ।
- दोषीको पहिचान गरी कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।
काठमाडौ – दाङको गढवा गाउँपालिकामा दुई महिलामाथि दुर्व्यवहारको प्रयास भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढाथोकीले घटनाबारे मौखिक उजुरी प्राप्त भएपछि राति नै अनुसन्धान अघि बढाइएको जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याइनेछ। आइतबार राति मादक पदार्थ सेवन गरेका केही युवाले दुई महिलामाथि दुर्व्यवहारको प्रयास गरेका थिए।
सो क्रममा एक महिलाको ज्याकेटसमेत तानिएको जनाइएको थियो। घटनापछि दुवै महिलाले असुरक्षित महसुस गरेको र घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै प्रहरीलाई जानकारी दिएका थिए।
घटनालाई गम्भीरतापूर्वक लिएर निष्पक्ष अनुसन्धान गर्न र दोषीमाथि कानुनअनुसार कारबाही गर्न पीडित पक्षले माग गरेको छ। प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।
