
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीया इन्जिनियर संचिता ज्ञवालीले लुम्बिनी प्रदेशबाट युवा महिला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
- उनले पार्टीलाई समयसापेक्ष, प्रविधियुक्त र युवामुखी बनाउँदै स्थानीय तहको अनुभवलाई केन्द्रीय नीति निर्माणमा जोड्ने अङ्गीकार गरेकी छन्।
- उनले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा समर्थन र अमूल्य मत दिन अपिल गरेकी छन्।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीया संचिता ज्ञवालीले लुम्बिनी प्रदेशबाट युवा ३५ वर्षमुनि महिला क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
इन्जिनियरिङ क्षेत्रसँगको आफ्नो प्राविधिक पृष्ठभूमि तथा स्थानीय तहमा दुई वर्षसम्म जनतामाझ रहेर गरेको कार्यअनुभवलाई आधार बनाउँदै ज्ञवालीले कांग्रेसको केन्द्रीय राजनीतिमा योगदान पुर्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेकी हुन्।
उम्मेदवारी घोषणा गर्दै ज्ञवालीले बीपी कोइरालाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई समयसापेक्ष, प्रविधियुक्त र युवामुखी बनाउन आफूले योगदान गर्ने बताएकी छन्।
स्थानीय तहमा काम गर्ने क्रममा नागरिकका दैनिक आवश्यकता, स्थानीय विकासका सम्भावना तथा ग्रासरुट तहका कार्यकर्ताको भावना नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले त्यही अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणमा जोड्न चाहेको बताएकी छन्।
युवा र महिलालाई पार्टीको निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा स्थापित गर्ने, स्थानीय तहका कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने तथा बुद्धभूमि लुम्बिनीको समृद्धिका लागि काम गर्ने आफ्नो मुख्य संकल्प रहेको ज्ञवालीले बताएकी छन्।
सामाजिक तथा सामुदायिक विकासका अभियानमा समेत सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले प्राविधिक ज्ञान, स्थानीय तहको कार्यअनुभव र समाजसेवाबाट प्राप्त अनुभवलाई पार्टीको नीति निर्माणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
ज्ञवालीले १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत र आशीर्वाद प्रदान गरी विजयी गराउन अपिलसमेत गरेकी छन्।

