काठमाडौ – अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताका आधारमा बजेट फुकुवा हुने क्रम चलिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजकाे बैठकमा सांसद भुवनबहादुर सुनारले राख्नुभएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खनालले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकार गठनको समयमा आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, मर्मत तथा सार्वजनिक सेवाको पुनः सञ्चालनका लागि ठूलो आर्थिक स्रोतको जोहो गर्नुपर्ने अवस्थामा अनुत्पादक आयोजना स्थगन गरिएको बताउनुभयो ।
तयारी नै नभएका, खरिद प्रक्रियामा नगएका, तत्काल समष्टिगत अर्थतन्त्रमा लाभ दिन नसक्ने देखिएका साना तथा टुक्रे आयोजनालाई मात्रै स्थगन गरेको उहाँको भनाइ छ ।
डिजाइन तथा स्टिमेट पूरा भइसकेका, टेन्डर प्रक्रियामा गएका वा क्रमागत आयोजना तथा उपभोक्ता समितिसँग सम्झौता भइसकेका आयोजनालाई सम्बन्धित मन्त्रालयमार्फत क्रमशः फुकुवा गर्ने व्यवस्था गरिएको उहाँले भनाई छ ।
