रुपन्देही । श्री लक्ष्मी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन हिजो बुटवल–१३ जितगढीस्थित साइनो पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमार्फत संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा माधव बहादुर भाट निर्वाचित हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा बाबुराम बन्जाडे, सचिवमा इन्द्रबहादुर बिक र कोषाध्यक्षमा गोकुल आचार्य चयन हुनुभएको छ।
कार्यसमितिका सदस्यहरूमा नारायण पौडेल, तुलसीकुमारी थापा, सन्तोष बन्जाडे, पार्वती खनाल, सीता भुसाल, रामकृष्ण कडेल र योगेन्द्र रायमाझी रहनुभएको छ।
त्यसैगरी, लेखा समितितर्फ संयोजकमा नरबहादुर भण्डारी,सदस्यमा सूष्मा खनाल र महेश पोखरेल निर्वाचित हुनुभएको छ।
अधिवेशनका क्रममा गठन गरिएको निर्वाचन मण्डलमा निर्वाचन अधिकृत गोविन्द आचार्य तथा सदस्यहरू ओम प्रकाश पेमी र राधा कुमारी भण्डारी रहनुभएको थियो। निर्वाचन मण्डलको संयोजनमा सम्पूर्ण पदमा सर्वसम्मत मनोनयन भएको हो।
अधिवेशनबाट निर्वाचित नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत गोविन्द आचार्यले शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहण समारोहपछि नयाँ कार्यसमितिले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमको एक महत्वपूर्ण क्षणका रूपमा पूर्व अध्यक्ष खुबीराम आचार्य र नवनिर्वाचित अध्यक्ष माधव बहादुर भाटबीच रजिस्टर हस्तान्तरण गरिएको थियो। सो अवसरमा पूर्व अध्यक्ष आचार्यले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको कामना गर्नुभयो।
सहकारीका शेयर सदस्य, प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न अधिवेशनले संस्थागत सुशासन, वित्तीय अनुशासन र सहकारी अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

