काठमाडौ -१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका संशोधनसहित पारित भएको छ ।

युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ तेस्रो संशोधनसहित पारित गरेको छ ।
बैठकमा १०औं राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिश गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टोलहरूलाई पत्राचार गर्ने निर्णय भएको छ ।
यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालू आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय–व्यय पास गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय गरेको छ ।
यस्तै सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ ।
