
- अर्घाखाँचीको फलामखिलीमा आयोजित महिला भलिबल प्रतियोगिताको उपाधि रोयल झिम्रुक प्युठानले जितेको छ।
- प्रतियोगितामा मञ्जरी युवा क्लब उपविजेता र असुरकोट युवा सञ्जाल तेस्रो भएका छन्।
- समापन अवसरमा स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न विशेष लोकसांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।
लक्ष्मण सुनार, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४, फलामखिलीमा सञ्चालित मातृभूमि प्रवासी पाँचौँ PYSC कप–२०८३ अन्तर्गत खुला महिला भलिबल प्रतियोगिताको उपाधि रोयल झिम्रुक प्युठानले जितेको छ।

फलामखिली युथ स्पोर्ट्स क्लब र प्रवासीको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा मञ्जरी युवा क्लब सन्धिखर्क उपविजेता बनेको छ भने असुरकोट युवा सञ्जालले तेस्रो स्थान हासिल गरेको छ। आयोजक फलामखिली युथ स्पोर्ट्स क्लबलाई अनुशासित टिम घोषित गरिएको छ।

प्रतियोगिताका विजेता, उपविजेता तथा तेस्रो हुने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्तिक १२ गतेदेखि १५ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार पुरुष भलिबलतर्फ तेस्रो स्थानका लागि बिहान ७ बजेदेखि आयोजक फलामखिली युथ स्पोर्ट्स क्लब र मञ्जरी युवा क्लब सन्धिखर्कबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि मालारानी–८ र डिभर्ना सन्धिखर्कबीच उपाधिका लागि फाइनल खेल हुने कार्यक्रम रहेको छ।
खेलकुदसँगै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई समेत जोड्ने उद्देश्यले प्रतियोगिताको समापन अवसरमा विशेष लोकसांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष हरि आलेले जानकारी दिनुभयो।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरू विशाल रायमाझी, एलिना रायमाझी, वसन्त लम्साल लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास तथा स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

