काठमाडौ – पाटन उच्च अदालतले पत्रकार दिलभूषण पाठकलाई कानून बमोजिम बाहेक तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले बुधबार सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अदालतले सरकार पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ भने दुवै पक्षलाई असार २० गते छलफलका लागि बोलाएको छ।

पत्रकार पाठकमाथि युट्युबमार्फत प्रसारण गरिएको ‘Tough Talk with Dil Bhushan Pathak’ कार्यक्रममा नवनियुक्त परराष्ट्रमन्त्री अर्जुना देउवाका छोरा जयवीर देउवाले हिल्टन होटेल किन्न राजनीतिक पहुँच प्रयोग गरेको दाबी गरेका थिए। उक्त सामग्रीलाई लिएर साइबर अपराध अन्तर्गत उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरिएको थियो। त्यसपछि साइबर ब्युरोले पत्रकार पाठकको खोजी गरिरहेको थियो।
पक्राउको प्रयाससँगै प्रहरीले अर्का पत्रकार नारायण अर्याललाई समेत केही समय नियन्त्रणमा लिएको थियो, जुन व्यापक आलोचना भएपछि उनी तत्कालै रिहा भएका थिए। घटनापछि पत्रकार महासंघ, मानव अधिकार आयोगलगायतका संस्थाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए।
पत्रकार दिलभूषण पाठक नेपालका एक वरिष्ठ पत्रकार तथा टेलिभिजन प्रस्तोता हुन्। उनले विगत दुई दशकदेखि अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका छन्। Tough Talk मार्फत उनीले विभिन्न संवेदनशील र सत्तासँग जोडिएका विषयमा गहिरो प्रश्नहरू उठाउने गरेका छन्। हालको घटनालाई प्रेस स्वतन्त्रताको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिएको छ।
उच्च अदालतको यस निर्णयलाई सञ्चारकर्मी तथा कानूनविद्हरूले स्वागत गर्दै लोकतान्त्रिक मुल्य–मान्यताको संरक्षणका लागि यो आदेश ऐतिहासिक भएको बताएका छन्। अब अदालतको आगामी सुनुवाइले यस विषयमा कस्तो आदेस आउने हो त्यो थप स्पष्टता प्राने छ ।
