
- मुगुको छायाँनाथ रारा नगरपालिका १२ मा पहिरोले बोलेरो जिप पुरेको छ।
- घटनास्थलमा प्रहरी पुगे पनि जिप खाली रहेकाले मानवीय क्षति भएको छैन।
- अहिले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको छ।
रतन बहादुर रावल मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकामा पहिरोले बोलेरो जिप पुरिएको छ। बुधबार बिहान अन्दाजी १०:३० बजेको समयमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ स्थित सुनाता भन्ने स्थानमा बोलेरो जिप पहिरोमा परेको हो । जिल्ला प्रहरी नायब उपनिरीक्षक डिएसपी रविराज थपलियाले जानकारी दिनुभयो।
सदरमुकाम गमगढी बाट सुनात पुगेर फर्किने क्रममा चालक बिशान खत्रीले चलाएको लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि सुनात खोलामा माथिबाट पहिरो खसेको थियो । जिप पहिरोले पुरिएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रोवा, मुगुबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रकाश बहादुर सिंहको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो ।
अस्थायी प्रहरी पोष्ट रोवाबाट झण्डै २ घण्टा दक्षिणतर्फ पर्ने उक्त घटनास्थलमा दिउँसो अन्दाजी १:२० बजे प्रहरी टोली पुगेर वस्तुस्थिति बुझेको थियो । घटनाको समयमा जिप खाली रहेका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

अहिले पहिरोबाट जिप निकाल्ने पहल भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

