
बुटवल । बुटवलस्थित रजा ए मुस्तफा मस्जिद समितिको ३१औं साधारण सभा तथा १६औं अधिवेशन आज औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको छ।
सभा उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भए पनि बन्द सत्रपछि निर्वाचन प्रक्रिया सहमति जुट्न नसक्दा स्थगित गरिएको हो।
निर्वाचन मण्डलका अनुसार, बन्द सत्रपछि निर्वाचन प्रक्रिया सुरु गरिए पनि उम्मेदवारहरू बीच सहमति कायम नहुँदा निर्वाचन रोकिएको छ।
उम्मेदवारहरूले आफ्नो उम्मेदवारी निर्वाचन मण्डलमा शुल्क तिरेर दर्ता गरेका थिए, तर सहमति नजुटेपछि शुल्क फिर्ता गरिएको छ र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन मण्डलका प्रवक्ताका अनुसार, ईद पर्वपछि निर्वाचन प्रक्रिया पुनः सुरु गरिनेछ।
यस बीचमा मस्जिद समितिको दैनिक कार्य सञ्चालन निर्वाचन मण्डलले गर्नेछ।
नयाँ कार्यसमिति चयन नभएसम्म मस्जिद व्यवस्थापनका कार्यहरू सुचारु रहने मण्डलले जनाएको छ।
सम्भावित समस्याहरू र विवाद समाधानको लागि समितिको आगामी बैठकहरूमा छलफल जारी रहने र नयाँ कार्यसमिति चयनका लागि थप प्रयास गरिने बताइएको छ।
