काठमाडौँ, कात्तिक २०- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले निरंकुश बन्दै गएको सत्तालाई जेन–जी आन्दोलनले खरानी बनाइदिएको बताएका छन्।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले काठमाडौँमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले भने, ‘जेन–जी पुस्ताले आफ्नो रगत दिएर निरंकुश सत्ता र दलालहरूको संसदलाई आगोमा खरानी बनाइदिए। उनीहरूले देश र जनताको पक्षमा कहिल्यै नबिर्सिने योगदान गरेका छन्।’
उनले हालको सत्तालाई अन्धो, बहिरो र जनविरोधी भन्दै आरोप लगाए। विप्लवले भने,
‘राज्यसत्ता अन्धो थियो, बहिरो थियो, निरंकुश थियो। जनताविरुद्ध तानाशाही बन्दै गएको थियो। तर जेन–जी पुस्ताले आफ्नो बलिदान र रगतले त्यो सत्ता र संसदलाई ढालेर देशमा चेतना भरेका छन्।’
विप्लवले जेन–जी आन्दोलनका क्रममा बलिदान भएका युवाहरूको स्मरण गर्दै काठमाडौँका सडक अझै पनि उनीहरूको रगतले राताम्य रहेको र जलाइएका संरचनाहरू इतिहासको प्रमाण बनेर उभिएका बताएका छन्।
उनले आन्दोलनले नयाँ युगको सुरुवात गरेको र अब जनता आफ्नै भविष्यको शासन निर्माणतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छ्न ।
