काठमाडौं – राष्ट्रिय सभाले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद शाहीले “राष्ट्रिय सभा वृद्धाश्रम हो” भन्ने अभिव्यक्ति दिएको भन्दै सदस्यहरूले आपत्ति जनाएका थिए।

शाहीले मिडिया काउन्सिल विधेयक अध्ययन नै नगरी हुबहु पारित गरेको आरोप लगाउँदै राष्ट्रिय सभामाथि टिप्पणी गरेका थिए। सोही टिप्पणीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शाहीको अभिव्यक्तिलाई कपोकल्पित, झुठ र गैरजिम्मेवारपूर्ण भएको बताए।
अध्यक्ष दाहालले कुनै एक सभाको सदस्यले अर्को सभाको काम कारबाहीमाथि यथार्थभन्दा बाहिर गएर टिप्पणी गर्नु गलत भएको उल्लेख गर्दै खेद प्रकट गरे। साथै, आगामी दिनमा सांसदहरूले वस्तुनिष्ठ र तथ्यपरक ढंगले धारणा राख्नुपर्ने निर्देशन समेत दिए।
