
- लगातारको वर्षाले कालीगण्डकीमा बहाव बढेको छ।
- स्थानीय बासिन्दा जोखिम मोलेर नदी किनारमा दाउरा सङ्कलन गरिरहेका छन्।
- प्रहरीको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै स्थानीयले जोखिमपूर्ण काम जारी राखेका छन्।
काठमाडौ – तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदी उर्लिएको छ।नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीय दाउरा संकलन गर्न कालीगण्डकी किनारमा पुगेका छन् ।

नदीको बहाव तीव्र रहे पनि स्थानीयले जोखिमको पर्वाह नगरी शनिबार बिहानैदेखि नदी किनारबाट दाउरा तथा मुढा निकालिरहेका छन् ।
उनीहरू दाउरा सङ्कलन गर्न तँछाडमछाडसमेत गरिरहेका छन् ।

स्थानीयले लौरोमा अङ्कुशे बनाएर त्यसको सहायताले नदीबाट मुढा निकालिरहेका छन् ।
उनीहरूले सङ्कलन गरेका दाउरा र मुढा बागलुङ–पर्वत जोड्ने कालीगण्डकी पुल छेउ तथा माझी बस्तीको आडमा थुपारेका छन् ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले पटक–पटक सिट्ठी बजाएर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।
तर स्थानीयले प्रहरीको आग्रह बेवास्ता गर्दै दाउरा सङ्कलन गरिरहेका छन् ।
कालीगण्डकीको बहाव बढेर बस्ती नजिकै पुगिसक्दा पनि स्थानीयमा भने खासै चिन्ता देखिँदैन । उनीहरू नदीमा वर्षौंदेखि बस्दै आएको र अहिलेसम्म बस्तीमा नदी नपसेको बताउँछन् ।
दाउरा सङ्कलनका क्रममा स्थानीयबीच मुढा र दाउरालाई लिएर विवादसमेत हुने गरेको छ ।
पछिल्लो समय कालीगण्डकीको बहाव बढेसँगै नदी आसपासका बस्तीमा जोखिम बढेको छ
।
