
- बुटवलमा जारी डीसीसी प्रिमियर लिगमा प्रिन्ट हब किंग्सले सिद्धार्थ रोयललाई ९ विकेटले पराजित गरेको छ।
- सिद्धार्थ रोयलले दिएको १२० रनको लक्ष्य किंग्सले १०.१ ओभरमै पूरा गर्दै लगातार दोस्रो जित निकालेको हो।
- अलराउण्ड प्रदर्शन गरेका विपिन भट्टराई अविजित ५९ रन बनाउँदै खेलको म्यान अफ द म्याच घोषित भए।
बुटवल । सिटी एक्सप्रेस प्रस्तुत डीसीसी प्रिमियर लिग सिजन–२, एक्सपोर्ट एजुकेशनद्वारा प्रवर्द्धित प्रतियोगिताअन्तर्गत आज मिति २०८३ साल जेठ ११ गते सम्पन्न खेलमा प्रिन्ट हब किंग्स ले सिद्धार्थ रोयल माथि ९ विकेटको प्रभावशाली जित दर्ता गरेको छ। 

यससँगै प्रिन्ट हब किंग्सले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ।
पहिले ब्याटिङ गरेको सिद्धार्थ रोयलले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। टोलीका लागि जनक न्यौपानेले ४५ रन तथा जगत क्षेत्रीले ३० रनको योगदान दिएका थिए।
१२० रनको लक्ष्य पछ्याएको प्रिन्ट हब किंग्स सुरुदेखि नै आक्रामक देखिएको थियो। विपिन भट्टराईले अविजित ५९ रनको विस्फोटक इनिङ खेले भने पारसुराम न्यौपानेले ३५ रनको महत्वपूर्ण साथ दिए।
प्रिन्ट हब किंग्सले केवल १० दशमलव १ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो।
बलिङतर्फ पनि विपिन भट्टराई प्रभावशाली देखिए। उनले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए। ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विपिन भट्टराई खेलको उत्कृष्ट खेलाडी घोषित भए।
