
- आज कुशेऔँशी पर्वका अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा पवित्र कुश भित्र्याएर पितृसम्मान दिवस मनाउँदैछन्।
- नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिन भारत भ्रमणमा जाँदैछन्।
- नेपालमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहँदा सुनको मूल्यमा ठूलो गिरावट आएको छ भने सशस्त्र प्रहरीले ६६६ जनाका लागि भर्ना आह्वान गरेको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

१.कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयाेग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्।यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राडा देवमणि भट्टराईले जानकारी दिए।सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।
पितृसम्मान दिवस
यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।
२.देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहँदा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।राति वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।मधेस प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।मधेस प्रदेश तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
३. चीनका राष्ट्रपति सी जिनपिङ यहि सेप्टेम्बर १२ तारिखदेखि नयाँ दिल्लीमा आयोजना हुने १८औं ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जानुहुने भएकाे छ।भारतीय गणतन्त्रका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति जिनपिङ यहि सेप्टेम्बर १२ देखि १३ तारिखसम्म नयाँ दिल्लीमा हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनु चिनियाँ विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी गराएकाे हाे । सन् २०१९ मा चेन्नईनजिकैको मामल्लापुरममा प्रधानमन्त्री मोदीसँग भएको अनौपचारिक शिखर सम्मेलनपछि राष्ट्रपति जिनपिङको यो ७ वर्षपछिको पहिलो भारत भ्रमण हुने भएकाे छ ।राष्ट्रपति जिनपिङको यो भ्रमण कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको हाे। भ्रमणले भारत र चीनबीचको सम्बन्ध स्थिर बनाउने जारी प्रयासका साथै ब्रिक्सभित्रको सहकार्यमा समेत दूरगामी प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ।
४. सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय ६६ जनाको पदपूर्ति गर्न लागिएको जनाएको हो।सूचनाअनुसार ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक, २ जना चर्मकर्मी र १ जना मालीको लागि दरखास्त आह्वान गरिएको छ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
५. जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।जबरजस्ती करणी मुद्दामा रुकुम जिल्ला अदालतले १२ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति सजाय तोकिएका बाँफिकोट गाउँपालिका वडा नं २ जिपु निवासी २६ वर्षीय दुर्गालाल परियार (दुर्गालाल दमाई) लाई प्रहरीले पक्राउ गरेको हो।उनी गत भदौमा भएको जेन जी आन्दोलनको क्रममा रुकुम (पश्चिम भाग) कारागार कार्यालयको गेट तोडी फरार भएका थिए।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे आफ्नै घरखेतमा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
६. प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजील्याण्डका नागरिकसहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ जारी राखिएको बताए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजील्याण्डले उपलब्ध गराएको २० लाख न्युजील्याण्ड डलर बराबरको मानवीय सहायताका निम्ति प्रधानमन्त्री लक्सनप्रति कृतज्ञता व्यक्त गरे ।प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजील्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।प्रधानमन्त्री लक्सनले नेपालले भोग्नुपरेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजील्याण्ड सरकार तथा जनताका तर्फबाट समवेदना र ऐक्यबद्धता प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
७. भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ। यस्तै, पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार शुक्रबार बिहान ११ बजेसम्म चितवनबाट ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको हो। जसमध्ये हालसम्म १०४ वटा शवको सनाखत भएका छन्।यस्तै, बाढीपछि हालसम्म १३ हजार ६७६ जनाको उद्धार गरिएको छ। यस्तै, उद्धार गरिएकाहरूलाई ३७ वटा होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा नुवाकोटमा दुई हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन्।बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको लागि २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेना ८ हजार ८४४, नेपाल प्रहरी ७ हजार ९७५ र सशस्त्र प्रहरी बल ४ हजार २०३ संलग्न छन्।
८. रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली पुगेका छन्।तीन दिने भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। पुटिन र मोदीबिचको भेटमा व्यापार, ऊर्जा, रक्षा र आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। रक्षा सहकार्यअन्तर्गत एसयू-५७ लडाकु विमान र ब्रह्मोस क्षेप्यास्त्रसम्बन्धी विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।यसैबिच, चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारत पुग्ने भएका छन्। चीनको विदेश मन्त्रालयले सीले सेप्टेम्बर १२ देखि १३ सम्म नयाँ दिल्लीमा हुने सम्मेलनमा सहभागी हुने पुष्टि गरेको हो।सीको भारत भ्रमण सन् २०२० को गलवान झडपपछि पहिलोपटक हुँदैछ। उनी सन् २०१९ पछि पहिलोपटक भारत जान लागेका हुन्। सम्मेलनका क्रममा सी र मोदीबिच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। दुई नेताबिच सीमा विवादसँगै व्यापार, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुन सक्नेछ।भारतले यस वर्ष ब्रिक्सको अध्यक्षता गरिरहेको छ। नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा हुने सम्मेलनमा ११ सदस्य राष्ट्रका नेताहरू सहभागी हुँदैछन्। व्यापार, ऊर्जा, प्रविधि, आर्थिक सहकार्य र विश्वव्यापी शासन प्रणालीमा सुधारलगायत विषय सम्मेलनका मुख्य एजेन्डा रहनेछन्।
९. शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यो साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।त्यस्तै आज चाँदीको भाउ तोलामा २५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ६ सयमा झरेको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ ४ हजार ७६५ रुपैयाँ थियो।
१०.चितवनको भरतपुर महानगरपालिका–९ को पूर्व–पश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको मृ`त्यु भयको हो ।आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीमा परी कारभित्र रहेका चालकको घटनास्थलमै मृत्यु भयको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन । आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।
