काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चाबहिलस्थित केन्द्रीय कार्यालयका घरबेटी भरतमणि देवकोटाले पार्टी सदस्यता त्यागेका छन्।

देवकोटाले आफू अब रास्वपासँग कुनै सम्बन्ध नरहेको पुष्टि गरेका छन्। उनले भने, “म अहिले पार्टी सदस्य मात्रै थिएँ, मैले आफ्नो सदस्यता पनि त्यागेको छु।”
पार्टी त्याग्नुको कारणबारे सोधिँदा उनले संक्षिप्त रूपमा प्रतिक्रिया दिँदै भने, “पार्टीमा रहिरहन चाहिनँ, यसबारे थप मिडियावाजी नगरौं।”
देवकोटा केही समयअघि रास्वपाको अनुशासन आयोगका प्रमुखसमेत थिए। पछिल्ला महिनादेखि उनको पार्टी नेतृत्वसँग सम्बन्ध बिग्रँदै आएको थियो। पार्टी केन्द्रीय कार्यालय रहेको उनको घर खाली गरिदिन उनले माग गर्दै आएका थिए। पछि निर्वाचनसम्म बस्न दिने सहमति बनेको थियो।
जेन्जी आन्दोलनपछि पार्टी कार्यालय तोडफोड र आगजनीमा पर्ने डरले देवकोटा असहज महसुस गरिरहेका थिए। उनले आफ्नै दुःखले विदेशमा बसेर कमाएको सम्पत्तिमाथि जोखिम पर्ने चिन्ता व्यक्त गर्दै मिडियामा भनेका थिए,
“भोलि यस्तै आन्दोलनमा नेताका घर र कार्यालयहरूमा जस्तै मेरो घर पनि लक्ष्य बनाइएला कि भन्ने डर लाग्छ, त्यसैले पार्टीलाई घरमा राखिरहन नचाहेको हुँ।”
यसबीचमा उनले पार्टीसँगको सबै सम्बन्ध अन्त्य गर्दै औपचारिक रूपमा सदस्यता त्याग गरेका छन्।
