
- भोटेकोशी बाढीमा बेपत्ता भएका नौ जनामध्ये आठ जनाका परिवारले डीएनए परीक्षणका लागि नमुना दिएका छन्।
- बेपत्ताहरू रसुवागढी हाइड्रोपावरको सुरुङभित्र फसेको आशंकामा परिवारजनले छिटो उद्धारको माग गरेका छन्।
- बाढीमा परेका ११ जनामध्ये एक जना सकुशल सम्पर्कमा आएका छन् भने एक जनाको शव पहिचान भइसकेको छ।
पाल्पा।भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पाल्पाका नौ जनामध्ये आठ जनाका आफन्तबाट डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ।

गत भदौ १० गते गएको भोटेकोशी बाढीपछि पाल्पाका ११ जना सम्पर्कविहीन भएकामा निस्दी–३ का बोमबहादुर सोमै सम्पर्कमा आउनुभएको थियो। नेपाल प्रहरीमा कार्यरत एक जनाको शव पनि फेला परेको थियो। बाँकी नौ जनाको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन ।
तीमध्ये आठ जनाका परिवारका सदस्यले डीएनए परीक्षणका लागि नमुना दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताउनुभयो। एक जनाको नमुना लिन बाँकी छ ।
प्रहरीका अनुसार तानसेन–१० का नेपाल प्रहरीका सहायक प्रहरी हवल्दार दीपेन्द्र विष्टको शव फेला परेपछि पहिचान भइसकेको छ । रैनादेवीछहरा–१ का सशस्त्र प्रहरी जवान अनबहादुर कुमाल, रिब्दीकोट–३ का विकास नेपाल र तिनाउ–२ का रमेश थापाका परिवारले डीएनए परीक्षणका लागि नमुना दिइसकेका छन् ।
यस्तै, तानसेन–७ की निमल कार्की, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, तानसेन–३ का तिलक राना, रामपुरका रामु सोती र सोही स्थानका अमृत सोतीका परिवारले पनि डीएनए परीक्षणका लागि नमुना दिएको प्रहरीले जनाएको छ ।
आठ जनाका परिवारका सदस्यले पाल्पा तथा नेपालका अन्य अस्पतालमा पुगेर नमुना दिएका हुन् ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पाल्पाका अधिकांश व्यक्ति रसुवागढी हाइड्रोपावरमा कार्यरत थिए । उनीहरू सुरुङभित्र फसेको हुन सक्ने आशंका परिवारले गरेका छन् । सुरुङभित्र उद्धारको काम छिटो गर्न सके बेपत्ता आफन्त जीवितै भेटिन सक्ने आशा परिवारजनले गरेका छन् ।
