आज दिनभरका मुख्य समचार

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म १ हजार २ सय ५२ जनाको मृत्यु पुष्टि भएको छ भने सरकारले मृतकको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाउने र उद्धारकर्मीका लागि राहत तथा क्षतिपूर्ति घोषणा गरेको छ।
  • पाल्पामा बाढीले दुई युवाको ज्यान लिएको छ भने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्रबाट दुई जनाको शव फेला पारिएको छ।
  • स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ हजार ६ सयले बढेर ३ लाख ४ हजार ९ सय कायम भएको छ भने नेप्से परिसूचकमा पनि सामान्य सुधार देखिएको छ।

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

Workplace

१.पाल्पामा बाढीले बगाउँदा दुईजना युवकको मृत्यु भएको छ। स्थानीय कन्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा-७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरुको बुधबार दिउँसो कन्चन खोलामा फेला परेको हो।उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

२. नेपाल-चीन सीमास्थित गेइरोङ बन्दरगाहमा गत साता बुधबार गएको पहिरोमा परी चीनतर्फ २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। ५४१ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।उच्च पहाडी क्षेत्रमा हिमनदी भत्किएपछि आएको चट्टान र हिमपहिरोलाई पहिरोको मुख्य कारण मानिएको छ। घटनाको एक साता पुग्दा पनि उद्धार तथा खोजी कार्य जारी छ। चीनले दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मी, चार सयभन्दा बढी उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी उपकरण, आठ सयभन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरेको छ।गेइरोङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा २७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। करिब ३३६ उद्धारकर्मीले १५ लाख ९१ हजार वर्गमिटर क्षेत्रमा खोजी गरिरहेका छन्। उद्धारका क्रममा ८४७ वटा व्यक्तिगत सामान पनि बरामद गरिएको छ।पहिरोका कारण अवरुद्ध भएको जी २१६ राष्ट्रिय राजमार्गमा चौबीसै घण्टा मर्मत गरेपछि बुधबार बिहानदेखि सडक पहुँच मूल रूपमा पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै थप उद्धारकर्मी, राहत सामग्री र ठूला उपकरण प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ।

३. रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्‍चिममा बुझाएको) १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।  फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय १३ महिला, ३ सय १४ पुरूष र ३ सय ७० नखुलेको गरी जम्मा ८ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। साथै पहिचान नभएको ९ सय ५९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।

४.विगत एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य स्थानीय बजारमा बिहीबार भने उच्च अङ्कले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।मूल्य वृद्धि भएसँगै बिहीबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि अघिल्लो मङ्गलबारदेखि सुनको मूल्य लगातार ओरालो लागिरहेको थियो।बुधबार मात्रै तोलामा ८ हजार ८०० रुपैयाँले घटेर सुन २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको थियो। त्यस्तै मङ्गलबार ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँ, सोमबार २ हजार ४०० रुपैयाँ घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ र आइतबार ९ हजार ५०० रुपैयाँ घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ७२५ रुपैयाँ पुगेको छ।यसअघि बुधबार चाँदी तोलामा १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको चाँदी सोमबार आइतबारकै मूल्य अर्थात् ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने चाँदीको मूल्य १८५ रुपैयाँले घटेको थियो।

५. रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।शवको पहिचान हुन बाँकी रहेको उनले बताए।यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेपनि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएपछि १५० मिटर आसपास शव भेटेको थियो।२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीमध्ये २५ जना अझै सम्पर्कविहीन छन्।

६. बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी अर्थात् छोनामका अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।प्रदेश सरकारको निर्णयअनुसार आगामी भदौ २२ गते सोमबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा हुनेछ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा सम्बन्धित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो।चेपाङ समुदायले पुस्तौँदेखि आफ्नो मौलिक परम्परा र संस्कृतिअनुसार मनाउँदै आएको न्वागी पर्वको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।न्वागीलाई चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। पर्वका अवसरमा समुदायले परम्परागत विधि तथा संस्कारअनुसार विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गर्दै उत्सव मनाउने गर्छ।

७. नेप्सेमा आज वृद्धि भएको छ। आज बिहीबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेर रोकिएको छ।आज ३४६ कम्पनिका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ मा कारोबार भएको थियो। आज फाइनान्स, हाइड्रो, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।आज, सबैभन्दा बढी वीन नेपाल लघुवित्तको शेयर ८.७६ प्रतिशतले बढेको छ भने चिर्ख्वा हाइड्रोको शेयर ८.५६ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी पियोर इनर्जीको शेयर १३.३३ प्रतिशतले घटेको छ।त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ४० करोड ९ लाख बराबरको कारोबार भएको छ भने सानिमा मिडल तामोरको १३ करोड ३२ लाख बराबरको कारोबार भएको छ।

८. भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।अघिल्लो वर्ष भर्दा २३ र २४ गते भएको जेनजी शहीद दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

९. सरकारले रसुवा बाढीमा खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठककाे निर्णय:

१. एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर (५० लाख डलर) अनुदान सहायता स्वीकार गर्ने ।

२. रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सूचारु गर्न ’एकीकृत व्यावसायिक पुनस्र्थापन योजना’ अन्तर्गत राहत, कर तथा महसुल छुट लगायतका सहुलियत उपलब्ध गराउने ।

३. साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत कुल २५,००० मेट्रिक टन चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने ।

४. खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने ।

५. २०८३ भदौ २३ गते ’जेन्जी शहीद दिवस’को अवसरमा देशभर सार्वजनिक बिदा दिने ।

६. भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा १३ औँ दिनको पुण्यतिथि अर्थात् २०८३ भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।

७. नेपाल प्रशासन सेवा समूहीकरणतर्फका नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव पदमा पदस्थापन गर्ने।

१०. सरकारले भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप २२ गते शोक दिवस मनाउने निर्णय गरेको हो ।बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार, बाढीमा मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथी पारेर सरकारले शोक दिवस मनाउन लागेको हो ।भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय भएको उनले बताए । सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?