
- रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।
- पहिचान भएका ८ सय ९७ वटा शव व्यवस्थापन गरिएको छ र ९ सय ५९ को विवरण प्रहरी वेबसाइटमा राखिएको छ।
- उद्धार र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी परिचालन गरिएका छन्।
काठमाडौं।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान १० बजे सम्म १ हजार २ सय ५२ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा १ सय २७ जना, नुवाकोटमा १ सय ७७ जना, धादिङमा ६० जना, चितवनमा ३ सय ५५ जना, गोरखामा ६९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १८ जना र नवलपरासी पश्चिम १ सय ९० जना र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी १ हजार २ सय ५२ जनाको शव फेला परेको हो । ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २ सय १३ महिला, ३ सय १४ पुरूष र ३ सय ७० नखुलेको गरी जम्मा ८ सय ९७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। साथै पहिचान नभएको ९ सय ५९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ।
