
- नोएडामा रहेका नेपाली समुदायले बाढीमा ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
- शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै सहभागीहरूले विपत्तिको घडीमा एकजुट भएर सहयोग गर्न आह्वान गरेका छन्।
- विदेशमा रहे पनि मातृभूमिको दुःखमा आफूहरू साथमा रहेको भन्दै नेपालीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
अर्जुन थापा नोएडा। नेपालमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै नोएडा सेक्टर–३४ कम्युनिटी सेन्टरमा नोएडामा बसोबास गर्ने नेपाली समुदायको आयोजनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

कार्यक्रममा नोएडा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका उल्लेख्य व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरिएको थियो।

कार्यक्रमका मुख्य आयोजकहरूमा दीपक जीसी, किशन थापा, कमल थापा, सुरज कुमार, विष्णु शर्मा, धर्मराज र नारायण बीके लगायत नेपाली समुदायका अगुवाहरू रहेका थिए।
श्रद्धाञ्जली सभामा आयोजक तथा सहभागीहरूले नेपाल अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै देशमा भएको दुःख र पीडामा विदेशमा रहेका नेपालीहरू पनि सँगै रहेको बताएका थिए। विपत्तिको यस घडीमा सबै नेपाली एकजुट भएर पीडितहरूको सहयोगमा अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रममा भाजपा गौतमबुद्ध नगरका पूर्व जिल्ला मन्त्री एसपी छामौलीले पनि आफ्नो श्रद्धाञ्जली मन्तव्य राख्दै नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो।
त्यस्तै आरडब्ल्यूए सेक्टर–३४ का महासचिव धर्मेन्द्र शर्माले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले नेपाली समुदायले आयोजना गरेको मानवीय तथा संवेदनशील कार्यक्रमको प्रशंसा गर्दै दुःखको यस घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो।
दीप प्रज्वलनका क्रममा कार्यक्रमस्थलको वातावरण भावुक बनेको थियो। सहभागीहरूले केही समय मौनधारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे भने नेपालमा चाँडै अवस्था सामान्य होस् र प्रभावितहरूको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने प्रार्थना गरे।
“देशबाट टाढा छौँ, तर देशको दुःखबाट टाढा छैनौँ।” नोएडामा सम्पन्न यस श्रद्धाञ्जली कार्यक्रमले विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, पीडा र जिम्मेवारीप्रति नेपाली समुदाय सदैव एकताबद्ध रहेको सन्देश दिएको छ।

