
- रसुवामा बाढी प्रभावित क्षेत्रमा ११ हेलिकप्टर र ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य तीव्र पारिएको छ।
- हालसम्म १६५ जनाको शव फेला परेको र ८२६ जना बेपत्ता भएकाले खोजी कार्य जारी राखिएको छ।
- प्रभावित जिल्लाहरूलाई नगद राहतसहित खाद्य सामग्री, बन्दोबस्तीका सामान र इन्धनको व्यवस्था गरिएको छ।
काठमाडौ – रसुवाको भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धारका लागि ११ वटा हेलिकप्टर परिचालन गरिएका छन् भने हालसम्म ३०५ जनाको हवाई उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार आज बिहान १०:३० बजेसम्म उद्धारका लागि ३७ वटा हवाई उडान भएका छन्। बिहान ११:१५ बजेको विवरणअनुसार ११ वटा हेलिकप्टर उद्धारका लागि परिचालन गरिएको छ। यस्तै, आज बिहान जमिनबाट थप ६३ जनाको उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पनि पठाइएको छ। चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस र ब्ल्याङ्केटलगायत सामग्री १० ट्रकमार्फत प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको छ।
बाढी प्रभावित रसुवालाई एक करोड, नुवाकोटलाई एक करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ।
उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका ७ हजार ४५१ जना सुरक्षाकर्मी परिचालन भएका छन्।
बाढीपछि हालसम्म १६५ जनाको शव फेला परेको छ। यस्तै ८२६ जना सम्पर्कविहीन छन्। यसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, रसुवाका १६१, नुवाकोटका एक र पर्यटक ५७९ जना छन्।
बाढीमा ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, नुवाकोटका २७ र धादिङका ३ जना छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उद्धार तथा राहतका लागि आवश्यक इन्धनको समेत व्यवस्था पनि गरिएको छ। नुवाकोटका भैरवी, सुर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको प्राधिकरणले जनाएको छ।
हवाई उद्धारका लागि नुवाकोटमा ८ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र थप ९ हजार लिटर पठाइएको छ।

