यी हुन् आज दिनभरका समाचार

राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार 

Workplace

१.प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिए पनि पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेका हुन्।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् भने असोज ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, सहसचिवहरू कृष्णप्रसाद ढकाल र कुमारराज खरेल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाका साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवद्वय सुभाष शर्मा र प्रदीप परियार तथा फोटोग्राफर विनय शाक्य रहनेछन्।महासभाका क्रममा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले विभिन्न मुलुकका प्रतिनिधि, समकक्षी तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्नेछन्, जसको कूटनीतिक समन्वय परराष्ट्र मन्त्रालय र न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले गर्नेछन्।महासभाको सम्बोधनका क्रममा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायुजन्य विपद्, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ।यसैक्रममा पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ। प्रधानमन्त्रीको यो भ्रमण छोटो अवधिको हुनेछ र सरकारले अन्तिम भ्रमण कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेपछि प्रतिनिधिमण्डलको टोलीमा केही परिवर्तन हुन सक्नेछ।

२. भोटेकोशी बाढीमा परेको एक हजार ४१० जनाको शव फेला परेको छ। यस्तै, पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार बेलुकी ७ बजेसम्म फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ छन्।फेला परेका शवमध्ये हालसम्म ११० जनाको सनाखत भएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये विभिन्न २७ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना छन्।बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना संकलन गरिएको छ। संकलित डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने काम अघि बढाइएको प्राधिकरणले जनाएको छ।बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्।सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन्।भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि अझै सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारकार्यलाई थप तीव्र बनाइएको छ।

३. सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा त्यसको भोलिपल्टदेखि नै पुनः विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो । धादिङ र नुवाकोटका सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु भइसकेको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए ।नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुनः सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।बाढीबाट सबैभन्दा प्रभावित रसुवाको पनि ९० प्रतिशत ठाउँमा बिजुली पुर्‍याइएको छ । उत्तरगया गाउँपालिका–१, गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर–१, २, ३ बाहेक जिल्लाका बाँकी सबै क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको प्रवक्ता शाक्यले बताए । राष्ट्रिय विद्युत् वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीबाट विद्युत् सेवा क्रमशः सुचारु भइरहेको उनले जानकारी दिए ।

४. गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ । गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि  सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

५.स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर तीन लाख तीन हजार १०० रुपैयाँ कायम भएको हो ।बिहीबार प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो।आज चाँदीको मूल्य पनि बढेको छ।बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँमा कारोबार भयको छ।

६.पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाललाई विदेशमा उपचार गर्न सरकारले रकम दिएको निर्णयविरुद्ध सर्वोच्चमा हालेको रिट जारी भएको छ।मन्त्रिपरिषद्को २०८२ असार ७ गतेको बैठकबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने, उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो।उक्त निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले राज्यको ढुकुटीको दुरुपयोग रोक्न रिट दायर गरेका थिए। मन्त्रिपरिषदको सो निर्णय कानुनविपरीतको र क्षेत्राधिकार बाहिर गई भएको देखिँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको छ।फेसलामा ‘नेपाल सरकारले आगामी दिनमा पनि कानून विपरीत हुने गरी कुनै पनि व्यक्तिको लागि विदेशमा उपचार गर्दा लाग्ने कुनै खर्च उपलब्ध नगर्नु, नगराउनु भनी प्रत्यर्थीमध्येका नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतको नाउँमा प्रतिषेधको आदेशसमेत जारी हुने ठहर्छ’ भनिएको छ।२०८३ असार २ गते फैसला भएको थियो। उक्त फैसला भदौ २४ गते सार्वजनिक भएको छ।

७. गएराति गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टामा तनहुँमा ६८ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै गोरखा, लमजुङ, सुनसरी र झापा लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको मौसम महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकामा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।यसैबीच पृथ्वीराजमार्ग अन्तर्गत धादिङको मझिमटारमा हिलोका कारण अवरुद्ध सडक खुलेको छ । गएरातिको वर्षाका कारण सडकमा हिलो जम्दा राति गाडी चल्न सकेका थिएनन् । आज बिहानदेखि हिलो पन्छाएपछि  सडकमा दुईतर्फी गाडी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ।

८. रसुवास्थित माथिल्लो त्रिशूली– १ को टनेलबाट ६ वटा शव निकालिएको छ।भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको हो।उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।उक्त क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ।

९. स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।उहाँले संसदीय निर्वाचनमा वामपन्थी तथा मध्य–वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार ३ सय ४९ सदस्यीय संसद्मा चार विपक्षी दलले १ सय ७६ सिट जितेका छन् । सत्तारूढ गठबन्धनमा रहेका चार दलले भने १ सय ७३ सिट पाएका हुन् ।दुई पक्षबीच झण्डै ५० हजार मतको मात्र अन्तर रहेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनुभयाे । अब नयाँ सरकार गठनको प्रक्रिया संसद्का सभामुखको नेतृत्वमा अघि बढ्नेछ । पूर्वप्रधानमन्त्री म्याग्डालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको हाे। एन्डरसनले सन् २०२२ मा गुमाएको प्रधानमन्त्री पदमा पुनः फर्कने सम्भावना बढेको छ । तर, सरकार गठनका लागि उहाँलाई गठबन्धनभित्रका दलबीचको वैचारिक मतभेद मिलाउनुपर्ने चुनौती छ । विपक्षी गठबन्धनमा सामाजिक लोकतान्त्रिक पार्टीसँगै वामपन्थी पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका हुन् । सेन्टर पार्टीले वामपन्थी पार्टीलाई सरकारमा मन्त्री पद दिएर सरकार गठन गरेमा समर्थन नगर्ने जनाएकाे छ।

१०.नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ।शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गरेर सरकारका गतिविधिविरुद्ध आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभयो।सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनलगायतमाथि दमन गरेको आरोप लगाउँदै प्रचण्डले त्यसविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभयो।उहाँले भन्नुभयो, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’चाडपर्वपछि ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध नयाँ पहलकदमी र प्रतिवादसहित आन्दोलन अघि बढाउने उहाँले बताउनुभयो।प्रचण्डले वर्तमान सरकारका गतिविधिका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाबीसमेत गर्नुभयो। स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढ्दै गएको उहाँको दाबी छ।‘अहिले केही महिनाभित्रै यो नयाँ भनिएको सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ। जुन भ्रम थियो, त्यो च्यातिँदै छ। र एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ,’ उहाँले भन्नुभयो।मधेश, वाग्मतीलगायत देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको आफूले महसुस गरेको उहाँले दाबी गर्नुभयो।‘हामी सबै आ–आफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ,’ उहाँले भन्नुभयो।प्रचण्डले सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोपसमेत लगाउनुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?