
- काठमाडौँका अनिकेत कपालीले विगत तीन वर्षदेखि दैनिक ५० भन्दा बढी सडकका कुकुरलाई खाना खुवाउँदै आएका छन्।
- आफ्नी आमाको सहयोगमा उनले जनावरप्रति मानवता र प्रेम दर्शाउँदै उनीहरूको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।
- अनिकेत सडकका जीवलाई घृणा होइन माया र गाँसको आवश्यकता छ भन्ने सन्देश दिँदै सामाजिक सेवामा समेत समर्पित छन्।
विजय सुनार
टोकियो, जापान– काठमाडौँ गोलढुङ्गामा बसोबास गर्ने २९ वर्षीय अनिकेत कपाली अहिले सडकमा रहेका कुकुरका लागि सहारा बन्दै आएका छन्।

सानैदेखि घरमा कुकुर रहेकाले कुकुरप्रति उनको माया र आत्मीयता बढ्दै गएको हो। कुकुर मात्र नभई अन्य जनावरप्रति पनि उनी उत्तिकै माया र सद्भाव राख्छन्।पढाइ सकेपछि घरको पसल तथा रोजगारीमा व्यस्त भए पनि कुकुरप्रतिको उनको प्रेम भने कहिल्यै घटेन।
विशेषगरी सडकमा रहेका कुकुरमाथि हुने दुर्व्यवहार, अपमान र उनीहरूले भोग्नुपर्ने दुःख देख्दा अनिकेतलाइ निकै नरमाइलो लाग्ने गर्थ्यो।सडकमा भोकभोकै हिँडिरहेका कुकुरहरू देखेपछि उनले सुरुमा बिस्कुट खुवाउन थाले। बिस्तारै यो काम उनको दैनिक जीवनकै एउटा हिस्सा बन्न पुग्यो।
अनिकेतलाई टाढैबाट देखेपछि कुकुरहरू पनि उनीतर्फ दौडिँदै आउने र उनीसँगै रमाउने गर्न थाले।हरेक दिन केही न केही खानेकुरा बोकेर कुकुरहरूलाई खुवाउँदै जाँदा उनीहरूसँगको आत्मीयता पनि बढ्दै गयो। समय बित्दै जाँदा उनले खुवाउने कुकुरहरूको सङ्ख्या पनि बढ्न थाल्यो। उनको काम देखेर परिवारले समेत साथ र हौसला दिन थाले।
गत तीन वर्षदेखि अनिकेत यस कार्यमा सक्रिय रूपमा लागिरहेका छन्। अहिले उनले दैनिक करिब ५० भन्दा बढी सडकमा रहेका कुकुरका लागि मासु भात तयार पारेर विभिन्न स्थानमा पुगेर खुवाउने गरेका छन्। यो सेवामा उनकी आमाले पनि हरेक दिन साथ दिँदै आउनुभएको छ।अनिकेत भन्छन्, “आमाको साथ र सहयोगबिना म यो काम एक्लै गर्न सक्दिनथेँ।”
सानैदेखि नै सडकमा रहेका कुकुरहरूले खान र बस्न नपाएर निकै कष्ट भोगिरहेको देखेका अनिकेतको मनमा उनीहरूका लागि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यही सोच अहिले सेवामा परिणत भएको छ।कुकुरप्रतिको यही माया र सेवाभावसँगै अनिकेतले सामाजिक क्षेत्रमा समेत आफूले सकेको सहयोग गर्दै आएका छन्।
उनले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गर्नुका साथै विभिन्न विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन्। यद्यपि, उनको दैनिक सेवाको मुख्य केन्द्र भने सडकमा रहेका कुकुर नै बनेका छन्।
दैनिक ५० भन्दा बढी कुकुरलाई खाना खुवाउन पाउँदा आफूले जीवनमा सन्तुष्टि र खुसी महसुस गर्ने अनिकेत बताउँछन्। उनका लागि यो केवल कुकुरलाई खाना खुवाउने काम मात्र होइन, बोल्न नसक्ने जीवप्रति देखाइएको माया, मानवता र जिम्मेवारी पनि हो ।
अनिकेतलाई देख्नेबित्तिकै सडकमा रहेका कुकुरहरू खुसी हुँदै उनीतर्फ दौडिन्छन् र उनको काखमा आएर बस्ने गर्छन्। मानिस र जनावरबीचको यो आत्मीय सम्बन्धले उनको सेवाभावलाई अझ अर्थपूर्ण बनाएको छ।
अनिकेतको यो प्रयासले वरपरका मानिसहरूको सोचमा समेत परिवर्तन ल्याउन थालेको छ। सडकमा रहेका कुकुरलाई घृणा वा दुर्व्यवहार होइन, माया, खाना र संरक्षण आवश्यक रहेको उनको भनाइ छ।
उनको सन्देश स्पष्ट छ सडकमा रहेका कुकुरलाई पनि बाँच्ने अधिकार छ। उनीहरूलाई तिरस्कार होइन, माया, खाना र सुरक्षित जीवनको अवसर दिनुपर्छ।
