
- पश्चिमी नाइजरमा दुई बस ठोक्किँदा २१ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा ३७ जना घाइते भएका छन् जसमध्ये सैनिक जवानहरू पनि रहेका छन्।
- तीव्र गति र सडकको दुरावस्थाका कारण नाइजरमा दुर्घटना बढ्दो छ।
पश्चिमी नाइजरमा दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो ।

दुर्घटनामा परेका दुई बसमध्ये एउटामा सैनिक जवानहरू सवार रहेको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको तथा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको एएनपीले जनाएको छ । नाइजरमा सडक दुर्घटना बढिरहेका बेला पछिल्लो घटना भएको हो ।
तीव्र गति, मादकपदार्थ सेवन गरी सवारी चलाउनु तथा सवारीसाधन र सडकको खराब अवस्थालाई यहाँ हुने सडक दुर्घटनाका प्रमुख कारण मानिन्छ । नाइजर सडक सुरक्षा एजेन्सीको प्रतिवेदन उद्धृत गर्दै एएनपीले सन् २०२५ मा देशभर सात हजार एक सयभन्दा बढी सडक दुर्घटना भएको जनाएको छ । ती दुर्घटनामा एक हजार २०० भन्दा बढीको मृत्यु तथा चार हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका थिए ।
